आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस : कांग्रेस र भ्रातृ सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदै
काठमाण्डौ – प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । दिवसको अवसरमा आज कांग्रेस र उसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
२०३३ साल पुस १६ मा नेपाली कांग्रेसका संस्थापक नेतासमेत हरेका बीपी कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्यलगायत नेता/कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई झण्डै आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट देख्नुभएका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको हो ।
२०१७ साल पुस १ मा तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई झण्डै तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।
त्यही वर्ष फागुन २६ गते सुन्दरीजल बन्दी गृहमा स्थानान्तरण गरिएको थियो । आठ वर्षपछि २०२५ सालमा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप शुरू गर्नुभएको थियो ।
त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एशियाका अन्य देशमा पनि विखण्डन शुरू भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उहाँलगायत नेता नेपाल फर्कनुभएको हो । तर त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगेर बन्दी बनाइएको थियो ।
२०३४ साल जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बीपी कोइरालालाई रिहा गरिएको थियो ।
यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उहाँलाई बन्दी बनाइएको थियो । चौबिस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।