आठौं राष्ट्रिय भाक्का दिवसको भब्य तयारी शुरु

भद्रपुर , दिपेश राजवंशी ।  बिगतका वर्षहरुझैं  यस वर्ष पनि आठौं संस्करणको राष्ट्रिय  ‘भाक्का दिवस २०८१’ मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाइ , माझी लगायतका समुदायले यस दिन भव्यताको साथ भाक्का दिवस मनाउने गरेका छन् ।

वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका आदिवासी राजवंशी, ताजपुरिया ,ठाकुर , गनगाइ ,माझी आदि समुदायको संस्कार ,संस्कृति तथा मौलिक परिकारहरुको सम्बर्द्धन  गर्दै देशको सांस्कृतिक विविधतालाई विश्वमा नै उदाहरणीय बनाउने उद्देश्यले हरेक वर्ष पौष २९ गते भाक्का दिवस मनाउने निर्णय गरेको हो ।

र त्यति बेला देखि नै झापा , मोरङ , सुनसरी र संघीय राजधानी काठमाडौंको विभिन्न स्थानमा एकसाथ विभिन्न कार्यक्रम गरि भाक्का दिवस भव्यताको साथ मनाउने गरिएको छ ।

सुरुवात देखि नै भाक्का दिवसलाई भव्य बनाउन देश तथा विदेशका कलाकार , अतिथि एवं सारा नेपाली जनताहरुले साथ दिएको पाइन्छ । सदाझै यस वर्ष पनि राजवंशी समाज विकास समितिले झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा आठौं संस्करणको भाक्का दिवस २०८१ आयोजना गर्दै छ ।

राजवंशी समाज विकास समितीका केन्द्रीय अध्यक्ष अभय राजवंशीका अनुसार , यस वर्ष कार्यक्रममा नेपाली राष्ट्रिय  कृकेट टोलिका खेलाडी ललित राजवंशीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

साथै कार्यक्रममा नेपालको लोकप्रिय गायिका रचना रिमाल , भारतीय कलाकार र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । व्यवसायिक सेफहरुद्वारा भाक्का माछा संगै विभिन्न परिकारहरुको निशुल्क वितरण , राजवंशी संस्कृतीसंग सम्बन्धित लोक गरगहना , पहिरन तथा लोकबाजाको प्रदर्शनी रहने कार्यक्रममा हजारौं  भारतीय पहुना सहित पचास हजार बढि मानिसहरुको सहभागिता रहने र कार्यक्रममा तीस हजार बढि मानिसहरुले भाक्का खाने आकलन आयोजकले गरेको छ।

पुर्वी तराईका आदिवासी राजवंशी समुदायमा जाडो छल्न छोरी चेलीहरुलाई घर बोलाएर र अरु पाहुनालाई समेत भाक्का संगै ब्वाली माछा ख्वाउने प्रचलन परापुर्वकाल देखि नै रहेता पनि पछिल्लो केही दशकदेखि जाडोयाममा भाक्का हरेक शहर अनि गल्लीको व्यवसायिक परिकार बनेको छ ।

विषेश गरि जाडो मौसममा खाइने भाक्का ,सबैले खाने र सबै उमेर समुहले मन पराउने परिकार हो । राजवंशी समुदायको मौलिक परिकार भाक्कालाई  पछिल्ला दिनहरुमा  ठुला तारे होटलहरुको मेन्युमा समेत समाविष्ट गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *