आगामी माघ ४ गतेदेखि धुलाबारीमा दोस्रो मेची महोत्सव हुने
झापा । आगामी माघ ४ गतेदेखि झापाको धुलाबारीमा दोस्रो मेची महोत्सव हुने भएको छ ।
धुलाबारीस्थित पूर्व बस स्टेण्ड उत्तरको खाली जमिनमा महोत्सव आयोजना गरिने आयोजक मेची चेम्बर अफ कमर्सले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
माघ १२ गते सम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकता दिइएको आयोजक समितीका अध्यक्ष रविन कुमार बस्नेतले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा उत्पादित कृषि, फलफुल, तरकारी, अन्नबाली र उद्योगहरुको उत्पादन प्रदर्शनीमा राखिने उहाँले बताउनु भयो ।
कृषि उपज, साना साना उद्योगहरुको बजारमा पहुँच नभएकाले उद्योगबाट उत्पादित सामग्रीको बजारसंग सिधा सम्पर्क गराउनका साथै दिगो व्यवस्था मिलाउँन महोत्सवमा व्यवसायीहरुका लागि फलदायी हुने उहाँको भनाइ छ ।
३६ वटा स्टल रहने महोत्सव अवधिभर स्वास्थ्य शिविर, कृषि उपजको प्रर्दशनी तथा बिक्रि, विभिन्न जातजातिको झाँकी प्रस्तुति, गितसंगीत क्षेत्रका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, विभिन्न खेलकुद र मेचीनगरका पर्यटकीय क्षेत्रको प्रर्वद्धन कार्यक्रम समेत राखिएको चेम्बरका महासचिव प्रकाश खड्काले बताउनु भयो ।
महोत्सवमा करीब ६ लाख खर्च हुने प्रारम्भिक अनुमान गरिएको महासचिव खड्काले बताउनुभयो ।
उहाँले संस्थाको २१ जना कार्यसमिति, आजिवन सदस्य र साधारण सदस्य गरी १०८ जना रहेकाले सबैले एक हजारका दरले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।