बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पुरा

बिर्तामोड । एपोलो बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव २०८१ को तयारी पूरा भएको छ ।

स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पुगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।

महोत्ससव भोलि ८ देखि १९ गतेसम्म सञ्चालन हुँदैछ । बिर्तामोड महोत्सवको करिव दुई लाखले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।
महोत्सवले बिर्तामोडको मात्र नभई कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने अध्यक्ष न्यौपानेको भनाई छ । महोत्सवमा छिमेकी राष्ट्रहरुबाट समेत आएर व्यवसायीले स्टल राख्ने र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने न्यौपानेले बताउनु भयो ।

एपोलो बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव २०८१ मा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका ५ धर्मकाटा रोडमा आयोजना गरिएको महोत्समा तयार गरिएको ह्याङ्गर २० हजार स्क्वार फुटको रहेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताउनु भयो ।
ह्याङ्गार ३० मिटर चौडाई र ६० मिटर लम्वाइको रहेको व्यवस्थापक सिम्खडाको भनाई छ । ह्याङ्गार भित्र ११८ वटा स्टल रहन सक्ने र यो ह्याङ्गर नेपालकै ठूलो ह्याङ्गर भएको उहाँको दावी छ ।

महोत्सवमा १५० वटा स्टल रहने छन् । जहाँ सार्क राष्ट्रका व्यवसायीले स्टल राख्ने छन् । स्थानीय क्षेत्रमा रहेका सबैखाले उद्योगहरुलाई समेट्दै व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवमा गाडीदेखि गार्मेन्टसम्मका स्टल रहने सिम्खडाको भनाई छ ।

सबैखाले मापदण्ड पूरा गरेर आयोजना गरिएको महोत्सवमा सेल्फी जोनदेखि मूलद्वार आकर्षक कलाकृत्तिमा बनेको उहाँको भनाई छ । उद्योग व्यापारको प्रर्वधनका लागि आयोजित महोत्सवको मुख्य प्रायोजक एपोलो पेन्ट्स रहेको छ ।

एपोलो बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव २०८१ को उदघाट्न कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्की गर्नु हुने बिर्तामोड उद्योग बाणिज्य महासंघका महासचिव कुशल खतिवडाले जानकारी दिनुभयो ।

व्यापार महोत्सवमा ५ भन्दा बढी सह–आयोजक रहेका छन् । करीव १ करोड भन्दा बढी अनुमानित खर्चमा सम्पन्न हुन लागेको महोत्सवमा सह–आयोजक प्रदेश सरकार कोशी प्रदेश रहेको छ ।

महोत्ससवमा विहान १० बजे देखि ३ बजे सम्म विद्यार्थी र जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ४ बजे देखि टिकट दर ४सय तोकिएको महोत्सव आयोजक समितिले जनाएको छ ।

पत्रकार सम्मेलनको सहजीकरण  बिर्तामोड उद्योग बाणिज्य महासंघका महासचिव खतिवडाले गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *