कनकाई ३ नं. वडा कार्यालयद्वारा इन्टरनेट प्रदायक संस्थालाई स्थानीय तहमा जोडिन आग्रह
कनकाई ११ माघ ,चन्द्र बस्नेत । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले इन्टरनेट प्रदायक संस्थालाई स्थानीय तहमा जोडिन आग्रह गर्दै अटेरी गरे कार्वाही गरिने चेतावनी समेत दिएको छ।
वडा कार्यालयले पटक–पटक गरेर इन्टरनेट, केवल तथा फोन प्रदायक संस्थालाई पत्राचार गरेर छलफलका लागि बोलाएपनि केही मात्र उपस्थित हुने गरेको भन्दै कडा चेतावनी दिएको हो ।
स्थानीय सरकारले बोलाउँदा समेत अटेर गर्ने इन्टरनेट प्रदायक संस्थालाई वडा कार्यालयमा छलफलका लागि उपस्थित भएर सुचिकृत तथा दर्ता र केवल तार ब्यवस्थापनका कडा चेतावनी दिएको हो ।
कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईले आज (शुक्रवार) इन्टरनेट, टेलिकम, केवलवालालाई अन्तर सम्वादका लागि पत्राचार गरेको बताउनुभयो ।
‘यो तेस्रो पटक पत्राचार गरेको हो’ वडाध्यक्ष चम्लागाईले भन्नुभयो ‘पटक–पटक गरेर सहकार्य र सहजताको लागि पत्राचार गर्दासमेत केही मात्र संस्थाको उपस्थिति छ ।’ यस अघि भएको छलफलमा ९ वटा इन्टरनेट प्रदायक संस्थाको उपस्थित भएपनि आज भने चार वटाको मात्र उपस्थिति रहेको थियो ।
उहाँले कनकाई नगरस्थित सुरुङ्गा बजार क्षेत्रमा रहेका बिजुलीका पोलमा जताभावी इन्टरनेट, केवल, टेलिफोनलगायतका तार अब्यवस्थित हुँदा आगलागी र सवारी दुर्घटना हुने भएकाले त्यसलाई ब्यवस्थित गराउने उदेश्यले सम्बन्धीत संस्थाहरुसँग अन्तर सम्वाद कार्यक्रमका लागि छलफल गर्न बोलाइएको बताउनुभयो ।
पछिल्लो समय अव्यवस्थित तारका कारण आगलागीका घटना समेत भएको कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य कृष्णमाया भुजेल बताउनुभयो
१४ वढी इन्टरनेट प्रदायक संस्थालाई पत्राचार गरेपनि आजको छलफलमा फाइबर वर्ड कम्युनिकेशन, डिस होम, बर्डलिंक र नेपालिंक कम्युनिकेशनका प्रमुख तथा प्रतिनिधिको मात्रै उपस्थित रहेको थियो ।
वडा सदस्य गोविन्द सुवेदीले विद्युतीय पोलहरुमा टाँगिएका अव्यवस्थित तारले नगर क्षेत्रलाई कुरुप बनाउनुका साथै दुर्घटनाको जोखिम बढाएको भन्दै कनकाई सहित अन्य पालिकाले समेत यसको व्यवस्थापनमा जुट्नुपर्नेमा जोड दिनुभएको थियो ।
वडा कार्यालयमा भएको अन्तर सम्वाद कार्यक्रममा इन्टरनेट प्रदायक संस्थाले माघ मसान्तसम्ममा वडामा सुचिकृत तथा दर्ता गर्नुपर्ने, पोलमा अब्यवस्थित रुपमा रहेका इन्टरनेटका केवल तथा तारहरु ब्यवस्थित गरी लिखित रुपमा वडा कार्यालयमा कार्य सम्पादन बारे जानकारी दिनु पर्ने निर्णय गरिएको छ ।
साथै उपस्थित नहुने इन्टरनेट प्रदायक संस्थालाई पुनः पत्रचार गर्ने र ती संस्थालाई पनि उक्त निर्णय कार्यन्वयन गराउने वडाध्यक्ष चम्लागाईले बताउनुभयो ।
छलफलमा उपस्थित इन्टरनेट प्रदायक संस्थाले उक्त निर्णय पालन गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।
कार्यक्रममा कार्यपालिका सदस्य कृष्णमाया भुजेल, वडा सदस्य सुश्मा परियार, वडासचिव कमल भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
झापाको कनकाईसँगै बिर्तामोड, दमक, भद्रपुर, बिर्तामोड, मेचीनगर लगायतका स्थानीयतहमा अव्यवस्थित तारको समस्या बढ्दै गएको छ ।
एउटै विद्युतको पोलमा तलदेखि माथिसम्म विभिन्न किसिमका तार देख्न सकिन्छ ।