शिवगञ्जबाट फर्मालिन प्रयोग गरिएका माछा बरामद

शिवसताक्षी । फर्मालिन प्रयोग गरिएका माछा बिक्रिमा प्रतिबन्ध लगाएको झापाको शिवसताक्षीमा  माछा बरामद गरिएको छ । मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने फार्मलिन प्रयोग गरिएको माछा जफत गरिएको हो ।

शिवसताक्षी नगरपालिकाको अनुगमन टोली शिवसताक्षी-६ स्थित शिवगञ्ज बजारबाट विषादी युक्त फार्मलिन प्रयोग गरिएको माछा जफत गरी उक्त माछालाई नष्ट गरेको छ ।

नगरपालिकाको टोलीले बजारमा बेच्न राखेको भेटाएपछि ४४ केजी माछा जफत गरी खाल्डो खनेर गाडेको हो । नगरपालिकाकी उपप्रमुख तथा अनुगमन टोलीकी संयोजक नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफे, राजश्व शाखा प्रमुख विमल बास्कोटा, शिवगञ्ज प्रहरी, नगरप्रहरीलगायतको टोलीले तीन पसलबाट माछा जफत गरेको थियोे । उक्त माछालाई नगरपालिका कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

उनले नगरका आम नागरिकबाट भारतबाट आयतित फार्मलिन युक्त माछाले मानव स्वास्थ्यमा असर परेको गुनासो आएपछि नगरपालिकाले त्यस्ता माछा बेच विखनमा कडाई गरेको जानकारी दिइन् ।

“स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाङफेले जानकारी दिइन् ।

उनले भनिन् “माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई यस अघि नै सुचित गरेका थियौ । तर उहाँहरुले बेच विखन गर्न रोक्नु भएन त्यसैले आज जफत गरेका हौं ।

शिवगञ्ज बजारबाट भुटन चौधरी, २० केजी, उपेन्द्र सहनीबाट २ केजी र दिपक शाहीको पसलबाट २२ केजी फार्मालिन प्रयोग गरिएको माछा जफत गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। नगरपालिकाले गएको माघ १० गते एक सूचना जारी गर्दै फर्मालिन रसायन प्रयोग गरिएको माछा बेच विखनमा रोक लगाएको थियो । नगरपालिकाले हाड बजार तथा अन्यबजारहरुमा समेत दैनिक अनुगमन गर्ने जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *