भ्रामक सूचना फैलाउने, ‘डीपफेक’ भिडियाे ‘अपलाेड’ गर्नेलाई ३ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना

काठमाण्डाै – सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । राष्ट्रियसभामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक दर्ता गराउनुभएको हो ।

विधेयकमा सामाजिक सञ्जालको दर्तादेखि नियमन र कानून उल्लङ्घन गर्नेलाई सजायसम्मको व्यवस्था रहेको छ । आज दर्ता भएको विधेयकमा फेसबुक, भाइबर ,ह्वाट्सएप, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने उल्लेख छ । संसद्बाट विधेयक पास भएर राजपत्रमा प्रकाशित भएको ६ महिनाभित्र सामाजिक सञ्जालहरू नेपालमा दर्ता हुनुपर्नेछ ।

सूचीकरण र दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले चल्न नदिनेसम्मका प्रावधान विधेयकमा छन् । अहिले नेपालमा गुगल, मेटालगायतका १९ वटा सामाजिक सञ्जाल दर्ता भएर करसमेत तिर्न थालिसकेका छन् ।

सामाजिक सञ्जालका सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न, नियमन गर्न आवश्यक देखिएकोले विधेयक संसद्मा पेस भएको प्रस्तावनामा उल्लेख छ ।

अब सामाजिक सञ्जालका प्रयोगकर्ताले जथाभाबी लेखेमा कडा दण्ड जरिवाना हुने विधेयकमा उल्लेख छ । विधेयकमा साइबर बुलिङ गरेमा ३ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *