प्रवक्ता प्रकाण्डलाई उदयपुर ल्याइयो

३१ भदौ, उदयपुर । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई उदयपुर ल्याइएको छ ।

सुरक्षा स्रोतका अनुसार गएको मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस पड्काएको अभियोगमा प्रकाण्डलाई शनिबार उदयपुर ल्याइएको हो ।

गएको ०७४ मंसिर १३ गते बुधबार बिहान निर्वाचन क्षेत्र नजिकै चुनाव प्रचार प्रसारमा हिँडेका कार्कीलाई नेपालटारको दनुवारवेसीमा विद्युतीय धराप पड्काइएको थियो । विद्युतीय धरापमा परि उदयपुरको प्रतिनधिसभा निर्वाचन क्षेत्र २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ४ जना गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये  कार्की र मीरा कटुवालले अहिले एउटा खुट्टा गुमेको छ । सोही घटनामा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव पार्टीका कार्यकर्तालाई आरोप लगाउँदै आएको छ ।

‘उदयपुर प्रहरीले पछिल्लो समय विप्लवका धेरै कार्यकर्तालाई त्यही विद्युतीय एम्बुसको अभियोगमा पक्राउ गरेको थियो । सुरक्षा निकायको एक स्रोतले भन्यो’, ‘प्रकाण्डलाई पनि सोही अभियोग लगाउने तयारीका साथ उदयपुर ल्याइएको हो ।’

यता जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले पक्राउ गरेर शनिबार उदयपुर ल्याइएका विपल्व नेता प्रकाण्ड अनुसन्धानमा रहेको जानकारी दिनुभयो ।

‘विद्युतीय, एम्बुस, बम विष्फोट धेरै आरोपहरु छ’, उहाँले भन्नुभयो, ‘अहिले हामी अनुसन्धानमा छौ, विद्युतीय एम्बुस हो की, बम काण्ड हो त्यो चाँडै पत्ता लगाउन कानुनी प्रक्रिया थालेका छौ ।’

यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी मेघराज अधिकारीले जिल्ला अदालत लैजाने तयारी भइरहेको बताउनुभयो । ‘केही समयपछि जिल्ला अदालत लैजान्छौ,’ उहाँले भन्नुभयो, ‘कानुनी प्रक्रिया पुर्‍याएर अनुसन्धान गरिरहेका छौ ।’

यसअघि आधा दर्जन विपल्व पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीको भनाइ छ ।

नेता खड्गबहादुर विश्वकर्मा उर्फ प्रकाण्ड पक्राउ गरेर उदयपुर ल्याएपछि नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव उदयपुरले बन्दको आव्हान गरेको छ । विप्लवको बन्दले ग्रामिण क्षेत्रका यातयात, शिक्षा ठप्प भएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *