मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित

भादू ३१, काठमाण्डौं ।प्रतिनिधिसभाको बैठकले मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

आईतबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ लाई सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । विधेयक पारित गर्नुअघि सांसदद्वय सञ्जयकुमार गौतम र गगनकुमार थापाले बालबालिकासम्बन्धी विधेयक, २०७५ मा बालबालिका आयोग गठन, बालबालिका संरक्षण मापदण्डलगायत विषय छुट भएको जनाउँदै सच्याउन माग गर्नुभएको थियो ।

सांसदहरुले उठाउनुभएका प्रश्नको उत्तर दिदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापाले सिमित समयभित्र बिद्ययेक पास गर्नुपर्ने भएकाले सरकारले अन्य समयमा बिद्ययेकमाथि छलफल चलाउदै संसोधन गर्न सकिने जानकारी दिनुभयो । प्रतिनिधिसभाले मौलिक हक कार्यान्वयनसम्बन्धी हालसम्म १५ विधेयक पारित गरेको छ । सदनबाट वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन विधेयक २०७५, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ र सामाजिक सुरक्षा विधेयक २०७५ पारित भएका छन् ।

यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक २०७५, जनस्वास्थ्य विधेयक २०७५, रोजगारीको हकसम्बन्धी विधेयक २०७५, उपभोक्ता संरक्षण विधेयक २०७५, खाद्य अधिकारसम्बन्धी विधेयक २०७५, आवासको अधिकारसम्बन्धी विधेयक २०७५ र भूमिसम्बन्धी सातौँ संशोधन विधेयक २०७५ पारित भएका छन् भने अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक २०७५ र वातावरण संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ पनि पारित भएका छन् ।

संविधानमा असोज २ गतेभित्र सदनले मौलिक अधिकारसम्बन्धी विधेयक पारित गर्नुपर्ने बाध्यकारी अवस्था छ । सदनको अर्काे बैठक सोमबार अपराह्न १ बजे बोलाईएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *