निर्मला बलात्कार-हत्यापछि यातना पाएकामा मानसिक समस्या

०१ असोज, महेन्द्रनगर । घटनाको अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेर हिरासतमा राखी यातना दिएकाहरूको मानसिक स्वास्थ्यमा समस्या देखिएको छ। कञ्चनुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले निर्दोष तीन जनालाई हिरासतमा राखेर यातना दिएको थियो। अहिले तीनै जनाको मानसिक स्वास्थ्यमा समस्या देखिएको परिवारले बताएका छन् ।

प्रहरीले अभियुक्त करार गरी २४ दिनसम्म थुनामा राखेका भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको स्वास्थ्यमा पहिलाको भन्दा बढी समस्या देखिएको छ। प्रहरीको थुनाबाट रिहा भइसकेपछि स्वास्थ्य अवस्था निकै जटिल बनेको उनका दाजु खड्गसिंह विष्टले बताए। ‘प्रहरीले पक्राउ गर्नुअघि मानसिक अवस्था केही बिग्रिएको थियो’, उनले भने, ‘प्रहरीको हिरासतमा बस्दा र त्यहाँ उसले पाएको यातनाले अहिले उनको अवस्था गम्भीर छ।’

घरबाहिर निस्कँदा अपरिचित मानिससँग बोल्न डराउने उनको अहिले मानसिक सन्तुलन खलबलिँदा बर्बराउने र एकोहोरो बोलिरहने समस्या देखिएको छ।

घरमा अहिले एकजना मान्छे कुरुवा बस्नुपर्ने समस्या देखिएको दिलीपका बुवा कमलसिंह विष्टले बताए। ‘मानसिक स्वास्थ्य ठीक नभएको छोरालाई पूरै पागल बनाइदिए’, उनले भने, ‘अहिले स्वास्थ्य अवस्था झन् जटिल बनेको छ। औषधोपचारको आवश्यकता छ, कहाँबाट उपचार गराउने ? ’

सरकारले अब जसरी भए पनि भाइको उपचार गरिदिनुपर्ने दाइ खड्गसिंह विष्टले बताए। ‘निर्दोषलाई फसाएर दोषी उम्काउने काममा संलग्न सबैलाई हदैसम्मको कारबाही गरी उनीहरूबाट पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ’, उनले भने।

११ दिनसम्म प्रहरीको हिरासतमा रहेर मानसिक यातना खेपेका भीमदत्त नगरपालिका–१८ का अर्का स्थानीय चक्रदेव बडूको स्वास्थ्यमा समेत समस्या देखिएको छ। उनी प्रहरी हिरासतबाट मुक्त भएदेखि नियमित काममा जान सकेका छैनन्। बजारमै उनी जीविकोपार्जनका लागि सानो काम गर्दै आएका थिए। रिहा भएको दिनदेखि उनी एकोहोरो टोलाउने मात्रै गरेका छन्। ‘राति सुतेको समयमा बर्बराउने गरेको छ, ज्वरो आउनेलगायत समस्या देखिएका छन्’, बुवा रामदत्त बडुले भने, ‘छोरालाई मानसिक यातना दिएकै कारण त्यसको असर दिमागमा परेको छ।’ राति सुतेकै समयमा ‘मलाई नमार्नुस्, मैले केही अपराध गरेको छैन’ भन्दै कराउने गरेको उनको भनाइ छ।

मानसिक स्वास्थ्य ठीक नभएको छोरालाई पूरै पागल बनाइदिए। अवस्था झन् जटिल बन्दै गएको छ। कमलसिंह विष्ट -दिलीपका बुवा

प्रहरीले हिरासतमा यातना दिने क्रममा बोलेका शब्द छोराले निद्रामै बोल्ने गरेको उनले बताए। ११ दिनसम्मको मानसिक यातनाले अहिले पनि चक्र डराउने गरेको र मानिससँग बोल्न पनि नसक्ने अवस्था रहेको उनको भनाइ छ। बिनाअपराध ११ दिनसम्म हिरासतमा राखेर छोरालाई यातना दिनेहरूलाई कारबाही हुनुपर्ने रामदत्तको माग छ।

प्रहरीबाट शारीरिक र मानसिक यातना भोगेकी भीमदत्त नगरपालिका–२, उल्टाखामकी १८ वर्षीया हेमन्ती भट्ट पनि घटना भएदेखि त्रसित छिन्। ६ दिनसम्म प्रहरीले दिएको शारीरिक र मानसिक पीडाले उनको मानसिक स्वास्थ्य सुधार हुन सकेको छैन। ‘मानसिक र शारीरिक यातनाले छोरी निकै तनावमा छिन्’, बुबा गोकलेश्वर भट्टले भने, ‘प्रहरीले निर्दोषीलाई फसाएर वास्तविक अपराधी जोगाउन खोज्यो।’

भदौ ३ गते पक्राउ गरिएका दिलीपसिंह विष्टलाई प्रहरीले मुख्य अभियुक्त बनाएको थियो। यथेष्ट प्रमाण नपुगेको र डीएनएसमेत मेल नखाएपछि उनलाई भदौ २६ गते रिहा गरिएको थियो। ११ दिनसम्म हिरासतमा राखिएका चक्रदेव बडूको समेत प्रहरीले डीएनए परीक्षणका लागि पठाएको थियो। उनको समेत डीएनए मेल खाएन।

हेमन्ती भट्टलाई ६ दिनसम्म दिनहुँ प्रहरी कार्यालयमा लगेर शारीरिक र मानसिक यातना दिँदै ‘घटनाबारे थाहा छ भन्’ भन्दै कबुल गराउन खोजिएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *