निर्मला हत्या प्रकरणः छानबिन अब सेनामाथि पनि

१ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण छानबिन गर्न अर्को समिति गठन भएको समाचार प्राथमिकतामा परेका छन् । प्रहरीमाथि नै छानबिन गर्न प्रहरीकै टोली गठन गरिएको, अनुसन्धानको जिम्मा कञ्चनपुर प्रहरीलाई नै दिइएको, छानबिन अब सेनामाथि पनि हुने भएको लगायतका समाचार आजका पत्रिकामा छन् ।

दुःख लाग्दो कुरा त के छ भने निर्मलाको बलात्कारपछि हत्या भएको झण्डै दुई महिना पुग्दै छ तर वास्तविक हत्यारा पत्ता लाग्न सकेको छैन । र, यसबीचमा २२५ चेली बलात्कृत भएका छन् । केन्द्रीय राजधानी काठमाडौंमा मात्रै ४५ दिनमा ४२ जना बलात्कृत भएका छन् । निर्मलाको गृह जिल्ला कञ्चनपुरमै आठ जना बलात्कृत भएका छन् ।

निर्मला हत्याः छानबिन अब सेनामाथि पनि

‘पुलिसको त्रास मर्‍यो, न्यायको आस टर्‍यो’ शीर्षकको समाचारमा नयाँ पत्रिकाले माथिका विवरणहरु उल्लेख गरेको छ । साथै निर्मलाको हत्या अनुसन्धान सैनिकमाथि पनि गर्न उच्चस्तरीय छानबिन समितिले सुझाव दिएको समाचार पनि छ ।

घटनास्थल सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा यस्तो सुझाव दिइएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

‘निर्मलाको शव भेटिएको स्थानबाट करिब ३ किलोमिटरको दूरीमा सेनाको बाहिनी छ । बलात्कारपछि घाँटीको कर्ड न्याकेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टमा खुलेको छ,’ छानबिन समितिका एक सदस्यलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘तालिमप्राप्त व्यक्तिले यसरी हत्या गर्ने सम्भावना धेरै हुन्छ, त्यही आधारमा बाहिनीबाट त्यो दिन बाहिर निस्किएका सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएका छौं ।’

निर्मला हत्या अनुसन्धानको जिम्मा कञ्चनपुर प्रहरीलाई नै

नागरिक दैनिकले निर्मला हत्या अनुसन्धानको जिम्मा कञ्चनपुर प्रहरीलाई नै दिइएको मुख्य समाचार छापेको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई आवश्यक जनशक्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउने गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धानको सबै जिम्मा कञ्चनपुर प्रहरीलाई दिएको समाचारमा उल्लेख छ ।

नेपाल प्रहरी प्रवक्ता शैलेश थापाले नागरिक दैनिकसँग भनेका छन्, ‘छानबिन समितिका सुझाव, प्रहरी प्रधान कार्यालयको सहयोग सबै उपलब्ध हुनेछन् । हत्यारा पत्ता लगाउने र कारबाही गर्ने जिम्मा कञ्चनपुर प्रहरीकै हो । अनुसन्धान र मुद्दा उतैबाट चल्छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *