संविधान दिवसलाई लिएर फोरममा विवादः केन्द्रले गर्यो कालो दिवस नमनाउने निर्णय

१ असोज, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले संविधान दिवस मनाउने निर्णय गरेको छ ।

फोरम नेपाल मधेश प्रदेश नम्बर २ कार्यसमितिले कालो दिवस मनाउने भन्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट केन्द्रीय  समितिले संविधान दिवस मनाउने निर्णय गरेको हो ।

केन्द्रले एक विज्ञप्ति जारी गरी संविधान संशोधन गर्न सरकार सहमत भइसकेको अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुने सबै पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।

फोरम नेपालका उपमहासचिव केशव अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत रहेपनि वर्तमान परिस्थितिमा संविधान संशोधनको माध्यमबाट संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेका कमिकमजोरीहरुलाई सच्याउँदै प्राप्त अधिकारहरुलाई संरक्षण गर्ने दायित्व रहेको छ ।’

थप अधिकार प्राप्त गर्न पार्टी र सरकारमा रहेका दलहरुसँग समझदारी भएको भन्दै फोरमले कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुन र यसबारे अन्य कुनै भ्रममा नरहन समेत आग्रह गरेको छ ।

फोरम नेपालको मधेश प्रदेश समितिले हिजो असोज ३ गते संविधान दिवस बहिस्कार गरी कालो दिवस मनाउने निर्णय गरेको थियो ।

संविधान दिवसको कुनै पनि कार्यक्रम सहभागी नहुन प्रदेश २ का जनप्रतिनिधिलाई समितिका संयोजक एवं पार्टीका उपाध्यक्ष रेणु यादवले निर्देशन दिएकी थिइन् । सो निर्णय प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पनि नमान्ने बताएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *