नवलपरासीको मध्यविन्दुमा रात्रिबस दुर्घटना, ३२ यात्रु घाइते

५ असोज, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा दुर्इ सवारी अापसमा ठाेक्किएर भएकाे दुर्घटनामा ३२ यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग ठोक्किएर शुक्रबार बिहान १ः१० बजे दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेमध्ये १५ जना सामान्य उपचारपछि घर फर्केका छन् भने १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासीले दिएको जानकारी अनुसार, मनकामना पोलिकिल्निक अरुणखोलामा उपचाररत १९ मध्ये १५ जनाको डिस्चार्ज भएको छ । बाँकी ४ जनाको भने उपचार भइरहेको छ ।

पुरानो मेडिकल कलेज भरतपुरमा १३ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम तथा सामान्य रहेको अस्पतालले जनाएको छ ।

बसमा ६० देखि ६५ यात्रु सवार रहेको अनुमान गरे पनि कति थिए भन्ने खुलेको छैन ।

दुर्घटनापछि केहरूबेर राजमार्गकाे सवारी अावागमन प्रभावित भएकाे थियाे । प्रहरीले अहिले अवराेध हटाएकाे छ र सडक एकतर्फी सञ्चालनमा ल्याएकाे छ ।

दुर्घटनाग्रस्त बस सडकदेखि ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, नवलपारसीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *