झाडापखालाबाट गाउँ नै प्रभावित, एकको मृत्यु

८ असोज, बर्दिबास । महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित मुस्लिम बस्ती नैन्हीमा झाडापखालाको प्रकोप फैलिएको छ । पखालाका कारण ४ वर्षीया खुस्बु खातुनको मृत्यु भएको छ भने २५ जना बिरामी परेका छन् ।

यता मामाघर बस्दैआएकी भारतीय नागरिक खुस्बुलाई उपचारको क्रममा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा मृत्यु भएको हो । अरु पाँच जनालाई गाउँकै स्वास्थ्य शिविरमा राखेर उपचार गराइँदै छ ।

चार जनाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि जिल्ल अस्पताल जलेश्वर पठाइएको छ । गर्भवती र बालबालिका पनि पखालाबाट बिरामी छन् ।

नैन्हीको मुस्लिम बस्तीमा चार दिनअघि नै झाडापखालाको प्रकोप देखा परेको थियो । गाउँलेका अनुसार नैन्हीका खेतमा पाइने माछा खाएपछि प्रकोप देखिएको हो । तर स्वास्थ्यकर्मी सन्तोष ठाकुरका अनुसार माछा नखानेमा पनि समस्या देखिएको छ ।

भदौ २९ गतेदेखि प्रकोप फैलिएर सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय मदरसा पनि बन्द गरिएको छ ।

प्रभावित क्षेत्रमा अहिले जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्य निरिक्षक सन्तोष ठाकुरको नेतृत्वमा स्वास्थ्य टोली खटिएको छ । टोलीले गाउँकै मदरसामा स्वास्थ्य शिविर संचालन गरिरहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *