राजधानी सार्ने विरोधमा धनगढी ठप्प

११ असोज, धनगढी । धनगढीबाट राजधानी सार्न लागिएको विरोधमा धनगढीमा बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । बजार पुरै ठप्प छ । यातायातका साधनहरु सञ्चालन भएका छैनन् । शिक्षण संस्थाहरुसमेत खुलेका छैनन् । बन्दकर्ताहरु बिहानैदेखि बजारमा निस्केका छन् । धनगढी नगरबासीद्वारा माइकिङ गरेर बन्दको आब्हान गरेका हुन ।

कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले आन्दोलनको अगुवाइ गरिरहेका छन् । धनगढीदेखि २० किलोमिटर टाढा अत्तरिया नजिक तेघरी ब्यारेक अगाडिको वन क्षेत्र मासेर राजधानी बनाउन खोजिएको भन्दै आन्दोलनकर्ताहरुले चर्काे बिरोध गरिरहेका छन् । ‘चुरे फेदीको जंगल मासेर धनगढीबाट राजधानी सार्ने कुरा कुनै हालतमा स्वीकार्य छैन्,’ आन्दोलनका अगुवा मध्येका एक कांग्रेस कार्यकर्ता हरि रेग्मीले भने ।

प्रदेशसभाले साउन १४ गते राजधानी र नामका लागि सुझाव दिन नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरेको थियो । उक्त समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित तेघरी ब्यारेकनजिक वन क्षेत्रमा राख्न सुझाव दिएपछि धनगढीमा बिरोध सुरु भएको हो ।

बुधबार विरोधका क्रममा धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वड आफै प्रदेशसभा अगाडि प्रदर्शनमा उत्रिएका थिए । उनले सुझाव अनुसार राजधानी धनगढीबाट सार्ने प्रस्ताव पास भए धनगढीबाट २४ घण्टाभित्र प्रदेशसभाका पदाधिकारीले छाड्नुपर्ने चेतावनी समेत दिएका छन् ।

कांग्रसले बुधाबार साँझ प्रदेशसभामा बेग्लै प्रस्ताव दर्ता गरिसकेको छ । उसले नाम सुदूरपश्चिम र राजधानी धनगढी हुनुपर्ने प्रस्ताव गरेको छ । अर्कोतिर सत्तारुढ नेकपाले समितिकै सुझाव अनुसार नाम सुदूरपश्चिम र राजधानी गोदावरी प्रस्ताव दर्ता गरेको छ । शुक्रबार दुवै प्रस्तावमाथि मतदान हुने सम्भावना छ ।

प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत रहेकाले सत्तारुढ दलले दर्ता गरेको प्रस्ताव पारित हुने लगभग पक्का छ । संविधानअनुसार नामांकन र राजधानीको प्रस्ताव पारित हुन दुई तिहाई बुहमत चाहिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *