चाडपर्व नजिकिएसँगै पूर्वका बजारमा तरकारीको भाउ आकाशियो

१२ असोज, झापा । चाडपर्व नजिकिएसँगै पूर्वका बजारमा तरकारीको भाउ आकाशिएको छ । किसानले उत्पादन गरेको तरकारी व्यापारीले दोब्बर भाउमा बिक्रि गर्ने गरेका छन् ।

 

असोज–कात्तिकमा तरकारी उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजन अनुसार उत्पादन वृद्धि नहुनु जस्ता कारणले बजारमा तरकारीको मूल्य बढेको छ । पूर्वमा स्थानिय स्तरमा तरकारीको उत्पादन कम हुदाँ बजारमा तरकारीको भाउ पनि आकासीदै गएको हो । सर्वसाधारणको भान्सामा दैनिक उपभोगमा आउने आलु, काउली, गोलभेडा लगायतका तरकारीको मूल्य दोब्बरले बढेको छ ।

उपभोक्ताहरु महँगो मूल्य हाल्दा पनि राम्रो तरकारी पाउन नसकेको गुनासो गरिरहेका छन् । बर्षेनी चाडबाडको मुखमा दैनिक उपभोग्य वस्तु तरकारीको मुल्य बढ्दा उपभोक्ता भने मारमा पर्ने गरेका छन् । ‘सबै तरकारीको भाउ निकै बढेको छ’ बिर्तामोडकी पुष्पा अधिकारीले भनिन्, ‘दशैं आउदै छ, अझै बढ्छ होला, गाह्रो हुने भो ।’

 

बर्खामा तरकारी उत्पादन नहुँदा लगत्तै आउने चाडवार्डमा वर्षेनी तरकारीको मुल्य बढ्ने गरेको व्यापारीहरु बताउछन् । हाल तरकारी उत्पादन नहुने र बजारमा माग बढ्ने गरेका कारण तरकारीको मुल्य बढेको उनीहरुको भनाई छ । झापाको विर्तामोडमा रहेको कृषी थोक बजारमा सिबी, बोडी, साग, कांक्रा भिन्डी, जस्ता तरकारीको भाउ प्रतिकेजी एक सय रुपैयाँ भन्दा बढी छ । त्यस्तै, आलु र टमाटरको मुल्य गतवर्ष भन्दा दोब्बर बढेको छ ।

बर्षेनी यो समयमा तरकारीको भाउ आकासीने गरेको बिर्तामोड कृषी बजार व्यवस्थापन समितिका संयोजक सुरेश कुमार कामतले बताए । ‘असोज–कात्तिकमा बर्षेनी बढ्छ नै’ उनले भने, ‘उत्पादन कम माग बढी हुने समय भएकाले तरकारीको भाउ बढ्ने गर्छ ।’ पूर्वको झापामा हरियो तरकारी बाहेक आलु, टमाटर, पर्वल लगायतका तरकारी दैनीक २५ कुईन्टलको परिमाणमा भारतबाट आउने गरेको छ ।

सिवी, बोडी, साग, कांक्रा, भिन्डी लगायत हरियो तरकारी भने ईलाम, पाँचथर, ताप्लेजुङ र धनकुटाबाट झापा भित्रीने गरेको कृषी थोक बजार व्यवस्थापन कार्यालयले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *