किशोरवयमा शारीरिक विकासका लागि आवश्यक छ यी कुरा
किशोरवय, जीवनको स्वणिर्म चरण । अर्थात गोल्डेन एज । साथसाथै संवेदनसिल चरण पनि । यही उमेरमा हो, अनेकन परिवर्तनलाई आत्मसात गर्नुपर्ने ।
वाल्यकाल पार गरेपछि जब हामी किशोरवयमा प्रवेश गर्छौं, हाम्रा शारीरिक अंगहरु थप परिस्कृत हुन थाल्छ । यही चरणमा पुगेपछि हामीमा भावनात्मक परिवर्तन पनि हुनेगर्छ । एकातिर जीवनकै उत्साह, उमंग, उर्जाले भरिएको मन, अर्कोतिर परिवर्तनको संघारमा पुगेको शरीर । यी दुई कुरासँगै करियर, पढाई जस्ता कुराले पनि घेरा हालिरहेको हुन्छ । त्यसैले किशोरवय एउटा विशेष र संवेदनसिल चरण हो ।
यतिबेला हामी बहकिन्छौं । सानो कुरामा पनि तिब्र प्रतिक्रिया दिन्छौं । कुनैपनि कुरा गर्न आँट आउँछ । हामीमा उर्जा हुन्छ । उत्साह हुन्छ । तर, यही चरणमा पुगेपछि धेरै कुरामा होसियारी अपनाउनुपर्ने हुन्छ ।
शारीरिक परिवर्तनलाई कसरी आत्मसात गर्ने ?
किशोरवयमा पुगेपछि हुने शारीरिक परिवर्तनलाई कसरी सहज रुपमा लिने, कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने कुरा अभिभावकले नै सिकाउनुपर्छ । जस्तो यौनाङ्गमा रौं आउने, मासिक धर्म सुरु हुने, स्वर परिवर्तन हुने, विपरित लिंगप्रति आकर्षण बढ्ने, स्नतको आकार बढ्ने जस्ता थुप्रै परिवर्तन हुन थाल्छ । यी परिवर्तन प्राकृतिक हुन् । त्यसैले यसलाई स्वभाविक रुपमा लिनुपर्छ भनेर उनीहरुलाई सिकाउनुपर्छ ।
हुन त उनीहरु यसबारे वेखबर हुने वा अनभिज्ञ रहने होइन । तर, कतिपय अवस्थामा यसलाई उनीहरुले अस्वभाविक लिन सक्छन्, जसले मानसिक तनाव पैदा गर्छ ।
मासिक स्रावको अवस्थामा
किशोरीमा मासिक श्राव सुरु हुँदा उनीहरुमध्ये कतिलाई यो निकै जटिल लाग्न सक्छ । पेट दुख्ने, ढाँड दुख्ने, दिक्क लाग्ने, झर्को लाग्ने जस्ता समस्या देखापर्छ । यस्तो अवस्थामा उनीहरुलाई परिवारको विशेष हेरचाह आवश्यक हुन्छ । खानपान र वसोवास सहित मानसिक रुपमा पनि उनीहरुलाई शान्त तुल्याउन सक्नुपर्छ ।
अहिले ग्लोवल वार्मिङको विश्वव्यापी प्रभावले बालबालिकामा उमेरभन्दा चाडै परिपक्कता देखिएको भनेर विभिन्न शोधमा खुलासा भइसकेको छ । विश्वमा बढ्दो तापमान, फास्टफूड, प्रविधिको पहुँच जस्ता कुराले उनीहरु उमेर अगावै परिपक्क भइरहेका छन् । यो परिपक्कता शारीरिक हो । यस अनुरुप मानसिक परिपक्कता भने नभएको बताइन्छ । यसले पनि उनीहरुमा अहिले तिब्र असर पारेको छ ।
किशोरावस्थामा प्रवेश गरिरहँदा उनीहरुलाई त्यस बखत हुने परिवर्तन र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा जानकारी गराउनुपर्छ । हुन त अहिले विद्यालय तहमा यौनशिक्षाको व्यवस्था गरिएको छ । यद्यपी त्यो मात्र पर्याप्त हुँदैन । उनीहरुलाई व्यवहारिक रुपमै त्यस सम्बन्धी जानकारी गराउनुपर्छ ।
किशोरावस्थामा फास्टफूड होइन, पौष्टिक खानपान
किशोरावस्थामा हुने शारीरिक परिवर्तनको कारण उनीहरुलाई पौष्टिक खानपानको आवश्यक हुने वताइन्छ । तर, अहिलेका किशोरपुस्ता फास्डफूड एवं बजारका तयारी खानामा पल्किएका छन् । उनीहरु चाउचाउ, मम, चाउमिन, पिज्जा, बर्गरमा अभ्यस्त छन् । यस्ता खान्कीले उनीहरुको शरीरलाई आवश्यक पोषण तत्व आपूर्ति नगर्न सक्छ । त्यसैले घरको स्वस्थ्यवर्द्धक खानामा उनीहरुलाई बानी पार्नुपर्छ ।
शारीरिक विकासका साथै मासिक धर्म सुरु हुने भएकाले किशोरीहरुले त खानपानमा ध्यान दिनैपर्ने बताइन्छ । यस सम्बन्धमा नेशनल हेल्थ र मेडिकल रिसर्च काउन्सिल अफ अष्ट्रेलियाका रिपोर्ट अनुसार स्वस्थ्य रहनका लागि यो चरणमा कति इनर्जी, प्रोटिन, क्याल्सियम र आइरनको आवश्यक हुन्छ, त्यसबारे यहाँ जानकारी गराइएको छ ।
आइरन
किशोरीलाई आइरनको एकदमै बढी आवश्यक हुन्छ । उनीहरुलाई प्रतिदिन १२ देखि १५ मिलिग्राम आइरन आवश्यक हुन्छ । यो तत्व उनीहरुले चिकेन, सिमी, बदाम, हरियो सब्जी आदिबाट प्राप्त गर्न सक्छन् ।
क्यालोरी
किशोरवयको विकास र गतिविधिमा पूर्ण योगदानका लागि प्रतिदिन २,२०० क्यालोरीको जरुरी हुन्छ । यसका लागि उनीहरुले प्रोटिन, लो डेरी प्रोडक्ट, फल, सब्जीको मात्रा बढाउनुपर्छ ।
प्रोटिन
शारीरिक वृद्धि र हड्डीको विकासका लागि प्रोटिनको अहंम् भूमिका हुन्छ । किशोरीले प्रतिदिन ४५ देखि ६० ग्राम प्रोटिनको आवश्यक हुन्छ । यी पोषक तत्व उनीहरुले पनिर, अन्डा, सोया फूड, चिकन, दुध आदिबाट प्राप्त गर्न सक्छन् ।
क्याल्सियम
किशोरावस्थामा हड्डीको विकासका लागि पनिर, दही, दुध आदि पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । सन् १९९५ मा भएको नेशनल न्यूटि्रशन सर्वेका अनुसार ९५ प्रतिशत अष्ट्रेलियाई युवती मोटो भइने भयले डेरी प्रोडक्ट खाँदैनन् । तर क्यानडामा भएको एक सर्वे अनुसार जो युवती नियमित रुपमा दुध पिउने गर्छन्, उनीहरु सधै फिट रहँदै आएका छन् । त्यसैले तौल बढ्ने डरले डेरी फूडसँग दुरी बढाउने काम नगरौं ।
आइरनको कमी भएमा के हुन्छ ?
-आइरनको कमीले थकान महसुष हुन्छ । किनभने शरीरमा होमोग्लोबिन बनाउनका लागि आइरनको आवश्यक हुन्छ । हेमोग्लोबिनले शरीरमा अक्सिजन प्रवाह गराउने काम गर्छ । जब शरीरमा पर्याप्त हेमोग्लोबिन हुँदैन, तब हड्डी र कोषसम्म अक्सिजन पुग्दैन र थकान महसुष हुन्छ ।
-छालामा पहेंलोपन आइरनको कमीले गर्दा हुन्छ । यसले छाला अस्वस्थ्य देखिन्छ । छालाको चमक हराउँछ ।
-आइरनको कमीको कारण शरीरमा हेमोग्लोबिन कम हुन्छ र अक्सिजनको स्तर घट्छ । यसले गर्दा सास फेर्नमा समस्या हुन्छ । टाउको दुख्ने समस्या हुन्छ । खुट्टामा पनि कमजोरी अनुभव हुन्छ ।
-आइरनको कमीले स्किन र कपालसम्म अक्सिजन आपूर्ति नहुने भएकाले त्यो ड्राइ र कमजोर हुन्छ ।