बंगबन्धु गोल्डकप : नेपालले आज ताजिकिस्तानको सामना गर्दै

१६ असोज, काठमाडौं। बंगलादेशमा जारी पाँचौ संस्करणको बंगबन्धु कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार (आज) नेपालले ताजिकिस्तानको सामना गर्दैछ । साविक विजेता  नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् । नेपालले ६ अक्टोवर शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छ ।

खेल सिलेटस्थित रंगशालामा नेपाली समयानुसार साँझ ६:४५ बजे हुनेछ । नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यसपटक अघिल्लो वर्षको प्रतियोगिताभन्दा केही असहज हुने भएपनि टिमले उपाधिकै लागि खेल्ने बताएका छन् । ढिला गरी बंगबन्धुमा सहभागिता जनाउने निर्णय गरेको नेपालले यही प्रतियोगिताको लागि भनेर एक सातामात्रै प्रशिक्षण गरेको थियो ।

प्रशिक्षक महर्जनले बंगबन्धुका लागि प्रशिक्षण समयावधि छोटो देखिएपनि टिम करिब तीन महिना अघिबाट नियमित प्रशिक्षणमा रहेका कारण खासै फरक नपर्ने बताए । अघिल्लो संस्करणको च्याम्पियन बन्दा नेपालले पाउनुपर्ने ५० हजार अमेरिकी डलरमध्ये २५ हजार डलमात्रै प्राप्त गरेपछि नेपालले पुरै पुरस्कार रकम नपाए प्रतियोगितामा सहभागिता नजाउने बताएको थियो ।

एन्फाले अल्टिमेटम दिएपछि बंगलादेश फुटबल फेडेरसनले तत्कालै पुरस्कारको रकम पुरा दिएपछि नेपालको बंगबन्धु सहभागिता निश्चित बनेको थियो । नेपालले अघिल्लो संस्करणमा च्याम्पियन बन्दा फाइनलमा बहराइनको यू–२३ टिमलाई ३–० ले पराजित गरेको थियो ।

फाइनलमा बिमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरेका थिए । तीनै खेलाडी अहिलेको टिममा पनि समावेश छन् । नेपाली टोली आइतबार बंगलादेश प्रस्थान गरेको हो ।( मकालु खबर )

Leave a comment

Your email address will not be published. Required fields are marked *