सिंहदरबारको गेटैमा गएर मागियो गृहमन्त्री र आइजीको राजीनामा

१८ असोज, काठमाडौं । सिंहदरबारको दक्षिण गेटमा कंचनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको न्यायको लागि भन्दै एक हुल मान्छेहरुले भिड गरेका छन्। उनीहरु एक्कासी त्यहाँ पुगेका थिए। प्रहरीले अहिले उनीहरुलाई हटाउने कोशिश गरिएको थियो। उनीहरु गेटमा पुगेसँगै सिंहदरबार भित्र र बाहिरपट्टी जाम भएको थियो।

उनीहरुले सिंह दरबारको गेटमा गएर गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा मागेका थिए।  कंचनपुरकी बालिका पन्तको बलात्कारपछि हत्या भएको थियो। अहिलेसम्म उनका अपराधीहरुलाई प्रहरीले कानूनको कठघरामा उभ्याउन सकेको छैन। प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले फरक फरक अनुसन्धान समिति गठन गरेको भए पनि अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन।

प्रहरीले अनुसन्धानको सुरुवातमै  गल्ती गर्दा हालसम्म पनि प्रभावकारी अनुसन्धान हुन नसकेको हो। सिंहदरबारमा उपस्थित भएकाहरुले अपराधी पत्ता लगाउन नसक्ने गृहमन्त्री र प्रहरी प्रमुखले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। साउन १० गते साथीको घरमा गएकी पन्त ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी थिइन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *