जुम्लाको चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन गर्ने

जुम्ला – आर्थिक विकासको लागि जुम्लाको चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ ।

सरकारले छुट्याएको बजेटले मात्रै नगरपालिकाको विकास निर्माणको लागि अपुग हुुने भएको भन्दै नगरपालिकाले भदौ २९ गते जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा लगानी सम्मेलन गर्न लागेको हो ।

जुम्लाको भौतिक विकासको लागि लगानी जुटाउन यो सम्मेलन गर्न लागिएको मेयर कान्तिका सेजुवालले जानकारी दिनुभयो । सम्मेलननको उद्घाटन अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गर्ने कार्यक्रम छ ।

यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्प कँडेल, सदस्य मीनबहादुर शाहीले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । लगानी प्रवद्र्धन सम्मेलनमा देशका प्रतिष्ठीत उद्योगी व्यवसायीहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, नेपाल स्थित कुटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधिहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

सम्मेलनका क्रममा जुम्लामा रहेका लगानीका अवसरका क्रममा छलफल हुनेछ भने स्थानीय विज्ञहरुले कृषि, पर्यटन तथा गैरवन पैदावार जडिबुटीका सम्भावनाका सम्बन्धमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

भौतिक विकास र मानवविकासका दृष्टिले पिछडीएको कर्णालीमा यो लगानी सम्मेलनले ठूलो अर्थ राख्ने मेयर सेजुवालले दावी गर्नुभयो । ‘जुम्लाको चन्दननाथ नगरपालिकाको अग्रसरतामा लगानी सम्मेलन आयोजना गर्न लागिएको भए पनि यसले समग्र कर्णाली प्रदेशको विकास र अग्रगमनको लक्ष्य लिएको छ’, उहाँले भन्नुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *