दशैंको दिन छोरा काठको बाकसमा फर्किँदा …

२४ असोज, झापा । झापा सुरुङ्गाका जीतबहादुर श्रेष्ठको परिवारले चाहेको थियोः साउदीबाट छोरा आओस्, हाँसीखुसी दशैं मनाउन पाइयोस् ।

छोरा ज्वालाले ८ असोजमा घरमा फोन गरेर भनेका पनि थिए, दशैंमा घर आउँछु भनेर । तर तालमेल नमिलेपछि दशैंमा होइन, मंसिरमा आउने भाका राखे ।

जीतबहादुरले परदेशको ठाउँ, भनेको बेला छोराले विदा पाएन होला भन्दै चित्त बुझाए ।

तर, केही दिनमा दुःखद खबर आयो, साउदीमा ड्राइभिङ गर्दै आएका ज्वाला दुर्घटनामा परे । उनको उतै मृत्यु भयो ।

बुधबार दशैंको पहिलो दिन धेरै आमाबाबु विदेशबाट फर्किएका सन्तानलाई विमानस्थलमा स्वागत गरिरहँदा जीतबहादुर भने काठको बाकसमा आएको छोराको शब बुझ्दै थिए । छोराको शव राखिएको बाकस देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन् ।

जति पटक पुछे पनि उनका बलिन्धारा आँशु खसिरहे । बुढेसकालको साहारा ठानेका छोराको शव बुझ्न विवश बाबुको यो हाल देख्नेहरुको पनि आँखा रसाए ।

परिवारका सदस्यहरुका अनुसार ३४ वर्षका ज्वाला दुई वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए । ८ असोजमा फोन गरेर दशैंमा घर आउँछु भनेका थिए । तर विदा नमिलेपछि भाका सारे । भाका भन्दा अघि नै आए तर … । ‘दशैंमा आउँछु भन्थ्यो, बुहारीले पनि के के भनिदिई अनि मंसिर आउँछु भनेर फोन राखेको हो’, जितबहादुरले भक्कानिँदै यत्ति भन्न सके ।

ज्वालाको दुर्घटनामा परेर मृत्यु भएको खबरले जितबहादुरको परिवारमा बिपत्ति बर्सियो । निधन भएको खबर लगत्तै शव ल्याउन पहल थाले पनि प्रक्रिया लामो हुँदा १७ दिनपछि बल्ल छोराको शव ल्याउन सकेको जीतबहादुरले बताए ।

जीतबहादुरका अनुसार ज्वाला तेस्रो पटक रोजगारीका लागि साउदी अरब गएका थिए । यसअघि पनि दशैंमा आउने जाने गर्थे । तर, यो पटक दैवले चुँडेर लग्यो ।

जीतबहादुरलाई आफ्नो भन्दा पनि नातीको चिन्ताले पिरोलेको छ । पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपछि दोस्रो विहे गरेर ज्वाला साउदी गएका थिए ।

जेठीपट्टीकै छोरा हुन् सृजल । उनी अहिले पाँचमा पढ्छन् । दशैंमा बाबुले नयाँ कपडा ल्याइदेलान भन्ने आशमा रहेका उनी बाबुको निधनको खबरले दशैं हुँदैन भनेर बुझ्नसम्म सक्ने भएका छन् । आमा पनि रोजगारीका लागि विदेशमै रहेका सृजललाई कसरी सम्झाउने हो जितबहादुरले सोच्न सकेका छैनन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *