कपिलवस्तुमा धार्मिक दंगा फैलाउने प्रयास असफल !

७ कात्तिक, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले कृष्णनगरमा लगाएको कर्फ्यु मंगलबारदेखि पूर्ण रुपमा हटाइएको छ । दुर्गा मूर्ति परिक्रममा गराउने क्रममा विवाद बढेपछि लगाईएको कर्फ्यु पाचौं दिनमा हटेको हो । कर्फ्यु हटेसँगै धार्मिक दंगा भड्काउने खोज्ने अदृश्य शक्तिको प्रयास पनि एक पटकका लागि असफल भएको छ ।

दक्षिणतर्फ नेपाल-भारतको दशगजा, उत्तरमा शिवनगरको बढाया पोखरी क्षेत्र, पूर्वमा सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म लगाइएको कर्फ्यु जनजीवन सामान्य भएपछि हटाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि बरालले जानकारी दिए ।

गत शुक्रबार दुर्गा मूर्ति परिक्रमा गराउने क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु लगाउनु परेको थियो ।

कसरी भयो घटना ?

एकादशीको दिन जिल्ला सदरमुकाम तौलिहवा, चन्द्रौटा, बहादुरगञ्ज, चार नम्बर, गजेहडा, पिपरा, वैरिया, वोडगाउं, चप्परगाउँ, बनगाई, गोरुसिंगे, महाराजगञ्ज, थुम्हवा, पचेहरा र पकडी लगायतमा स्थापना गरिएका दुर्गा मूर्ति परिक्रमा भईरहेको थियो ।

दशैंको बेला मूर्ति परिक्रमा गराउँदै हिँडेकामध्ये कतिपय मदिरामा झुमेका देखिन्थे । त्यहाँ बजेका गीतसंगीत पनि युवाहरूमा जोश बढाउने खालको थियो ।

साँझ आठ-नौ बजेतिर कृष्णनगर चोक नजिक पुगेको मूर्ति परिक्रमा टोलीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेपछि विवाद शुरु भएको स्थानीयहरू बताउँछन् । त्यसपछि दुवैतर्फबाट ढुंगा हानाहान शुरु भयो ।

स्थिति तनावग्रस्त बनेपछि मूर्ति परिक्रमा गराउँदै हिँडेको टोली अगाडि बढ्न सकेन । त्यसपछि प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले जनप्रतिनिधि, स्थानीय नेता र सुरक्षा प्रमुख लगायतसँग छलफल गरे पनि स्थिति सामान्य बन्न सकेन ।

उद्देश्य धार्मिक दंगा !

जिल्ला सुरक्षा समितिका अधिकारीहरू कपिलवस्तुमा दशैंको मौका छोपेर साम्प्रदायिक दंगा भड्काउन खोजिएको बताउँछन् । ‘युवाहरूले मदिरा सेेवन गरेको मौका छोपेर दंगा भड्काउन खोजेको सूचना प्राप्त भएपछि कर्फ्यु  लगाउनु परेको हो’, सुरक्षा समितिका एक सदस्यले अनलाइनखबरसँग भने ।

नाम उल्लेख गर्न नचाहने ती सदस्यका अनुसार शान्ति खलबलाउन चाहनेहरूले हिन्दु र मुस्लिम समुदायलाई भिडाउन खोजेका थिए । उनीहरूले योजना अनुसार नै मस्जिद नजिक पुगेपछि झडपको स्थिति सिर्जना गरेका थिए ।

मिल्मी, करमा, कपिलवस्तु घर भएका पूर्व मन्त्री ईश्वर दयाल मिश्र आक्रोशको आगोमा रोटी सेक्न खोज्नेहरू सक्रिय भएको हुनसक्ने कुरालाई नकार्न नसकिने बताउँछन् । मिश्र भन्छन्, ‘विगतका घटना हेर्दा पनि अवाञ्छित तत्वको चलखेललाई पुरै वेवास्ता गर्न सकिने अवस्था छैन ।’

जिल्लाको सामाजिक बनावट, छिमेकी देशसँगको सीमा नजिक हुनु र विगतको अनुभव हेर्दा घटनालाई सामान्य रुपमा हेर्न नमिल्ने सुरक्षा समितिका सदस्यहरू बताउँछन् ।

यो घटनापछि प्रदेश प्रहरी कार्यालय दाङले कपिलवस्तु र बाँकेलाई उच्चसतर्कता अपनाउनु पर्ने जिल्लाको सूचिमा राखेको छ ।

तितो विगत दोहोर्‍याउने प्रयास

पहिलो संविधानसभा निर्वाचनताका पश्चिम नेपालका विभिन्न जिल्लामा पुगेको दंगाको शुरुवात कपिलवस्तुबाटै भएको थियो । ३० भदौ २०६४ मा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले कपिलवस्तुका मोहित खानको गोली हानेर हत्या गरे ।

शाही कालमा माओवादी प्रतिकार समूहको जिल्ला अध्यक्ष हुँदै कांग्रेसको जिल्ला सदस्य र तत्कालिन लोकतान्त्रिक मधेशी मोर्चाको कार्यवाहक जिल्ला अध्यक्ष रहेका खानको हत्यालाई त्यतिबेला जातीय तथा धार्मिक रंग दिन विभिन्न प्रयास भयो ।

जिल्ला सदरमुकाम तौलीहवामा मात्रै होइन बुटवल, भैरहवा जस्ता शहरमा पनि दिनदहाडै एउटा समूदायमाथि आक्रमणको गरेर उत्तेजित बनाउने प्रयास भएको थियो ।

आधा दर्जन भन्दा बढीको ज्यान लिएको त्यो घट्नाका बेला सरकारी कार्यालय, विभिन्न पार्टीका कार्यालयमा तोडफोड र आगजानी भएको थियो । पहाडी समुदायले मधेसी र मधेशी समुदायले पहाडेलाई, मुस्लिमले हिन्दु र हिन्दुले मुस्लिमलाई कुटपिट गरेको सिडि ब्यापक मात्रा वितरण गरिएपछि घट्नाले उग्र रुप लिएको थियो ।

पछि मात्रै थाहा भयो, समुदाय-समुदायबीच कुटपीट गरेको भनिएको सीडी वितरण गर्ने समूह एउटै रहेछ । अर्थात उनीहरूले योजनाबद्ध रुपमा दंगा मच्चाएका थिए ।

अहिले कृष्णनगरमा देखिएको दृश्य पनि झण्डै ०६४ सालको जस्तै छ । एउटा समूहले अर्को समूहलाई ढुंगा प्रहार गरेको भिडियो दुवै पक्षसँग छ । तर, उनीहरूले विपक्षीले आफ्ना मान्छेलाई ढुंगा हानेको भिडियो मात्रै भाइरल बनाइरहेका छन् । ‘भिडियो हेर्दा हुल्याहा जमातको सनक मात्रै हो भन्ने लाग्दैन’, सुरक्षा समितिका एक सदस्य भन्छन् ।

सांसद शाह लखेटिए

प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी गराएपछि कपिलवस्तु-३ बाट निर्वाचित सांसद अभिषेकप्रताप शाह ढुंगा हानाहान भएको स्थानमा पुगे । त्यहाँ पुगेर उनले दोषी जो भए पनि कारवाही गरिने र दुर्गा मूर्ति परिक्रमा तथा बिर्सजन नरोक्ने आशयको अभव्यिक्ति दिए ।

सदभाव कायम र संयमित बन्न आग्रह गर्न पुगेका सांसद शाहलाई उपस्थित भीडले त्यहाँबाट लखेटे । गत वर्ष सम्पन्न निर्वाचनमा २० हजार मत ल्याएर चुनाव जितेका शाहको भनाइ कसैले टेरेनन् ।

त्यतिमात्रै होइन, त्यसको भोलिपल्ट कृष्णनगरमै रहेको शाहको घरमा पनि ढुंगा प्रहार भयो । त्यो घटनापछि शाह दुवै मोवाइल स्वीच्ड अफ गरेर बसेका छन् ।

‘धमिलो पानीमा माछा मार्न खोज्नेहरूको विषयमा सुनेको थिएँ, तर यहाँ माछा मार्न आफैंले पानी धमिल्याउने प्रयास भएको सूचना आयो’, जिल्ला सुरक्षा समितिका एक सदस्य भन्छन् ।

सदभाव र समुदाय

धार्मिक वा सामुदायिक बनावटलाई नै कतिपयले विवादको कारण मान्ने गरे पनि यो निहुँ मात्रै हो भन्ने उदाहरण कपिलवस्तुमै छ । कृष्णनगरको नजिकै चैपुरवा गाउँ छ । जहाँ ९५ प्रतिशत मुस्लिम समुदायको बसोबास छ ।

तर चैपुरवामा धर्म वा समुदायको नाममा विवाद हुँदैन । पूर्व मन्त्री मिश्र पाँच प्रतिशत जनसंख्या भएको हिन्दुहरूले त्यहाँ निर्धक्क आफ्नो पर्व मनाईरहेका छन् । ‘चैरपुर्वामा मूर्ति परिक्रमामा मात्रै होइन विर्सजनमा पनि कुनै समस्या छैन,’ मिश्र भन्छन्, ‘सबै धर्म मान्ने समुदाय सद्भाव र संयमको पक्षमा छन् ।’

कृष्णनगर जहाँ ढुंगा हानाहान भयो त्यहाँ मुस्लिम समुदाय करिब एक तिहाईको संख्यामा छन् । ‘त्यो घट्नालाई एउटा समुदायले अर्को समुदायमाथि होइन अपराधीले निर्दोषमाथि गरेको प्रहार हो’ पूर्वमन्त्री मिश्र भन्छन्, ‘अपराधीको कुनै धर्म र जात हुँदैन, अपराधी भनेको केवल अपराधी नै हो ।’

घटनालाई समयमै नियन्त्रणमा लिन नसक्नुमा स्थानीय प्रशासनको पनि कमजोरी देखिएको मिश्रको भनाई छ । उनी प्रहरीले पूर्व सतर्ककता अपनाउन सकेको भए यस्तो घट्ना नहुने बताउँछन् ।

पाँच नम्बर प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता पुष्पराज मल्ल भने अंध्यारोमा ढुंगाहान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रहरी सचेत रहेको बताउँछन् । उनी भन्छन्, ‘स्थिति पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ, भविश्यमा यस्तो घट्ना दोहोरिन दिँदैनौं ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *