सिरियल ठग दिनेश कोइराला पक्राउ, १ अर्बभन्दा बढी ठगी गरेको अनुमान

७ कात्तिक । सिरियल ठग दिनेश कोइराला मंगलबार पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले कोइरालालाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरेको हो ।

पीडितहरुले आफू ठगीमा परेको उजुरी गरेपछि अपराध महाशाखाको टोलीले कोइरालालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

कोइरालाले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका १ खोटाङका श्याम खड्काबाट १९ लाख लिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जापान पठाउन नसकेपछि कोइरालाले खड्कालाई दिएको १९ लाखको चेक बाउन्स भएपछि बैंकिङ कसुरमा उनी पक्राउ परेका हुन् ।

१ अर्बभन्दा बढी ठगीको अनुमान
विभिन्न व्यक्तिहरुलाई पैसा डबल हुने, व्यापार व्यवसायमा शेयर दिने, सस्तो मूल्यमा जग्गा जमिन मिलाइदिने तथा वैदेशिक रोजगारीमा पठाइदिने बहाना बनाएर कोइरालाले ठगी गर्ने गरेका थिए ।

‘हिरो’जस्तै सिरियल ठग, यसरी ठगे १० करोडभन्दा बढी सम्पत्ति

मुख्यतः पूर्वका जिल्लाहरुमा आफ्नो उपस्थिति बढाएका कोइरालाले करिब १ अर्ब ठगी गरेको प्रारम्भिक सुचना आएको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिएका छन् ।

‘टार्गेट’ एकल महिला
कोइरालाले ठगी गरेका अधिकांश व्यक्ति महिला छन् । सम्पत्ति टन्न भएको महिलाहरुलाई फकाईफुल्याई कोइरालाले रकम लिने गरेका थिए । मुख्यतः विधवा, डिभोर्सी आदि महिलाहरुसँग कोइरालाले ऋण वा सापटीका नाममा रकम लिने र फिर्ता नगर्ने गरेको पाइएको छ । एकै महिलासँग ५ करोडसम्म रकम लिएको भेटिएको एक प्रहरी अधिकारीले बताएका छन् ।

पूर्वबाट पीडित काठमाडौँ आउँदै
सिरियल ठग दिनेश कोइरालाको ठगीमा परेका पीडितहरु बुधबार काठमाडौं आउँदै छन् । झापा, मोरङ, पाँचथर, इलाम, सुनसरी लगायतका जिल्लाबाट पीडितहरु काठमाडौं आउँदै गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिएका छन् ।

‘कोइरालाले मुख्यतः पूर्वका जिल्लाहरुमा बढी ठगी गरेको पाइन्छ । कतिपय व्यक्तिलाई जालसाजी गरेको पनि गुनासो आएको छ । अहिले अन्य उजुरी नआएकाले यसै भन्न सकिँदैन, तर पूर्वका जिल्लाबाट धेरै मानिसहरु काठमाडौं आउँदै गरेको जानकारी पाएको छु । ठगी भएको रकम कति छ भनेर त्यसपछि मात्रै भन्न सकिएला’ प्रवक्ता थापाले भने ।

तत्कालका लागि कोइरालालाई बैंकिङ कसुर अन्तरगत मुद्दा चलाउन लागिएको छ । कोइरालाले जारी गरेको १९ लाख र १५ लाखको चेक बाउन्स भएकाले त्यसैका आधारमा पक्राउ गरिएको थियो ।

यद्यपि, प्रारम्भिक जानकारीमै करिब १ अर्ब रुपैयाँ ठगी गरेको अनुमान प्रहरीको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *