चन्द्रगढीमा रात्रि उडानको तयारी

८ कात्तिक, भद्रपुर । चन्द्रगढी विमानस्थलमा राति पनि जहाज उडान तथा अवतरण हुने भएको छ । पुससम्ममा रात्रि उडान गर्ने गरी विमानस्थल प्रशासनले तयारी सुरु गरेको हो ।

रात्रि उडानका लागि विमानस्थल प्रशासनले रन-वे लाइट जडान गरिरहेको चन्द्रगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुँडालले बताए । ‘नाइट फाइटका लागि द्रुत गतिमा काम भइरहेको छ’, चुँडालले भने, ‘पोइन्टहरू राख्न सुरु भइसकेको छ, अब लाइट जडान सुरु गर्दै छौँ, पुसदेखि नाइट फाइट अपरेसन गर्ने हाम्रो तयारी छ ।’

विमानस्थलमा यात्रुको चाप अत्यधिक बढिरहेको उनले बताए । अब जहाज राख्ने ठाउँसमेत विस्तार गर्ने तयारी रहेको उनको भनाइ छ । ‘रन-वेको पिचको आयु १० वर्ष हुन्छ, यो पिच गरेको ९ वर्ष भइसक्यो’, चुँडालले भने, ‘यही आर्थिक वर्षमा हामी रन-वेको पिच ओभरले गर्ने काम गर्दै छौँ ।’ ६५ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलमा अरू २० बिघा थप्ने योजनामा विमानस्थल प्रशासन जुटेको छ ।

चन्द्रगढी विमानस्थलबाट दैनिक सात सय यात्रु झापा-काठमाडौँ आवत-जावत गर्छन् । पूर्वी नाकाबाट भित्रिने भारतीय, भुटानी र अन्य मुलुकका यात्रु काठमाडौँ जान चन्द्रगढी विमानस्थल प्रयोग गर्छन् ।

कम भिजिबिलिटीका कारण हिउँदमा प्राय: उडान रद्द हुन्छ । विमानस्थलमा आइएफआर प्रविधिबाट जहाज अवतरण गराउन थालिएपछि भने २२ सय मिटर भिजिबिलिटीमै उडान तथा अवतरण हुन थालेको छ । हाल दैनिक पाँच एयरलाइन्सका सात जहाजले उडान भर्दै आएका छन् ।

विमानस्थलमा दमकलसमेत ल्याउने प्रशासनको तयारी छ । ‘माघमा हामी दमकल ल्याउँदै छौँ, दमकलका लागि पानी सप्लाई गर्ने ट्यांकी बनिसकेको छ’, विमानस्थलका प्रमुख चुँडालले भने । पहिले जहाजले आवतजावत गर्न काठमाडौँबाटै इन्धन बोकेर झापा आउनुपर्ने बाध्यता थियो । अहिले त्यो समस्या पूर्ण रूपमा हटेको छ । चन्द्रगढी विमानस्थलमै नेपाल आयल निगमका ट्यांकर बस्न थालेका छन् ।

अहिले दिउ“सो चार घन्टा मात्र उडान

चन्द्रगढी विमानस्थलमा अहिले दिउँसो ११ देखि ३ बजेसम्म मात्र उडान हुने गरेको छ । हिउँदमा हुस्सु लाग्दा उडान नै रद्द हुने गरेको छ । रात्रि उडान भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने चन्द्रगढी विमानस्थल प्रमुख चुँडालले बताए ।

अन्य सहरमा सीधा उडानको तयारी

हाल चन्द्रगढीबाट काठमाडौँसम्म उडान भइरहेकोमा अन्य सहरमा पनि उडान गर्ने तयारी भइरहेको विमानस्थल प्रमुख चुँडालले बताए । ट्राभल एजेन्सीसँग सहकार्य गरेर पोखरा, नेपालगन्ज र भैरहवा उडान गर्ने योजना रहेको उनको भनाइ छ । अहिले पोखरा उडानको माग अत्यधिक भएको चुँडालले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *