हिरासतको रड काटेर दुई अभियुक्त फरार, सात प्रहरीमाथि थालियो अनुसन्धान

९ कात्तिक, विराटनगर । नेपाल-भारत सीमानामा रहेको विराटनगरस्थित इलाका प्रहरी कार्यालय (इप्रका) रानीको हिरासत कक्षको रड काटेर बिहीबार राति हत्याका दुई अभियुक्त फरार भएका छन्। कर्तव्य ज्यान तथा अपहरण मुद्दा चलाउनका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएका दुई थुनुवा प्रहरीको लापरवाहीका कारण भाग्न सफल भएका हुन्।

 

फरार हुने थुनुवामा विराटनगर महानगरपालिका- १७ का २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन रहेका छन् । आरिफ र हुसेनलाई अपहरण गरेर आफ्नै साथीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो।

उनीहरुले आफ्नै साथी विराटनगर-१७ रानीका १९ वर्षीय मोहम्मद अस्ताकको अपहरणपछि हत्या गरेको प्रहरीको भनाइ छ । अस्ताकको शब हत्या गरेर फ्यालेको अवस्थामा गत असोज ७ गते ह्युम पाइप मुनी फेला परेको थियो।

घटनालगत्तै दुवैजनालाई पक्राउ गरेर प्रहरीले अदालतको अनुमतिमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानको पाटो नसकिंदै ड्युटीका प्रहरीको लापरवाहीका कारण अभियुक्त भने प्रहरी हिरासतमा रहेको भेन्टिलेसनको रड काटेर फरार भएका हुन्।

२४ घण्टा सुरक्षाका लागि हतियारसहित प्रहरी खटाइएको हुन्छ। थुनुवाले फलामको रड काट्दासम्म पनि हिरासत सुरक्षार्थ खटाइएका प्रहरीले थाहा नपाउनुलाई लापरवाहीका रुपमा लिइएको छ।

हिरासत कक्षमा हावा पास हुनका लागि पूर्वतर्फ राखिएको भेन्टिलेसनको ६ वटा रड काटेर थुनुवा भागेको गम्भीर घटनाको सबै पाटोबाट अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए। ‘हिरासतबाट थुनुवा भागेका छन्’, उनले भने, ‘कसरी थुनुवा भागे भन्ने सबै कुरा अनुसन्धान नसकिएसम्म खोल्न मिल्दैन।’

केसीले भागेका थुनुवाको खोजी भने तीव्र बनाएर घटनाका बारेका अनुसन्धान सुरु गरिसकिएको जानकारी दिए। भारततर्फ भागेको हुनसक्ने आशंकामा उनीहरुलाई पक्राउ गर्नका लागि भारतीय प्रहरीसँग पनि समन्वय गर्ने काम भइरहेको उनको भनाइ छ।

घटना भएका बेला इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोश निरौला विदामा थिए । हिरासतबाटै थुनुवा भागेपछि निरौला कार्यालय फर्किएर फरार भएकाको खोजीमा जुटेका छन्। ‘हिरासत सुरक्षाका लागि २४ घण्टा नै हतियार सहित प्रहरी खटाइएको हुन्छ।

त्यहीं ठाउँमा ६÷६ वटा रड काटेर भेन्टिलेसनबाट थुनुवा भाग्नु भनेको ड्युटीमा रहेका प्रहरीको गम्भीर लापरवाही हो,’ एसपी केसीले भने, ‘फलामको रड काटेर थुनुवा भागेको घटनामा प्रहरीकै मिलेमतो छ की भन्ने आशंकामा पनि अनुसन्धान गर्ने काम भइरहेको छ। रड काट्दासम्म थाहा नपाउनुले घटनामा त्यहाँ खटाइएका प्रहरीकै मिलेमतो हुन सक्छ।’

कुन औजारको प्रयोग गरेर भेन्टिलेसनमा लगाइएका रड काटियो भन्ने कुरा पनि खुल्न नसकिरहेको जानकारी उनले दिए। घटनास्थलबाट रड काट्नका लागि प्रयोग गरिएको कुनै औजार र काटिएका रडका टुक्रा पनि फेला पर्न नसकेको केसीको भनाइ छ।

उनले ड्युटीका क्रममा लापरवाही गर्ने सात जना प्रहरीमाथि अनुसन्धान सुरु गरिएको बताए । घटना भएका बेला त्यहाँ ड्युटी रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर अनुसन्धान सुरु गरिएको र त्यसपछि कारवाही अघि बढाइने उनको भनाइ छ।

अनुसन्धानका लागि ड्युटी कमान्डर प्रहरी सहायक निरीक्षक पशुपति बस्नेत, क्वार्टर गार्ड प्रहरी हवल्दार जीरालाल रौनियार तथा जवानहरु रिंकु मण्डल, अमित तामाङ, सुरेश राजवंशी र जगरनाथ वास्के समेतलाई जिल्ला तानिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *