पहाडमा बोइलर कुखुरा पालन गर्दै

पाँचथर । तराई क्षेत्रमा बोइलर कुखुराको मासु अत्याधिक खपत हुँदै आएको छ । पहाडमा पनि यसको माग हुन थालेपछि तुम्बेवा गाँउपालिका वडा नम्बर ३ मौवामा युवाहरुले बोइलर कुखुरा पालन व्यावसाय सञ्चालन गरेका छन् ।
युवा उद्यमी दिपक रसाइली, श्याम गहतराज र ज्योतेन्द्र रसाइलीले ४ सय बोइलर कुखुराको चल्ला गत भदौं महिनामा लगाएका थिए । उनीहरुले पालेका कुखुरा असोजको दोश्रो हप्तामा बेच्न ठिक भए पनि खपत कम हुँदा कात्तिकको दोश्रो हप्तासम्म पाल्नु परेको छ । एउटा कुखुरा२ देखि ५ केजीसम्मका छन् ।
चल्ला, दाना तथा औषधी धरान वा दमकबाट आयात गर्नु पर्छ । मौवा तुम्बेवा गाँउपालिकाको सदरमुकाम हो । साविकका वलने, हाङ्गगुम, आङ्गना र मौवा गाविसका मानिसहरु मौवा डाडामा किनमेल तथा भेटघाटका लागि दैनिक ओहोर दोहोर गर्ने गरेका छन् । पहिलो पटक १ सय वटा कुखुरा पालन गरेपछि राम्रो आम्दानी गर्न सकिने भए पछि उनीहरुले पुनः ४ सय वटा कुखुरा एकै पटक पालेको युवा उद्यमी दिपक रसाइलीले बताउनु भएको छ ।
मौवामा बोइलर जिउँदो ३ सय ५० र मासु ४ सय ५० रुपैया प्रति केजी बिक्री हुने गरेको छ । दैनिक ५ देखि १२ हजारसम्मको कुखुरा खपत हुने भए पनि लामो समय पाल्नुपर्दा दानापानीमा खर्च बढ्ने गरेको छ । स्थानीय सरकार तुम्बेवा गाउँपालिकाले कृषि तथा पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको भने पनि हालसम्म कुनै सहयोग समेत नपाएको युवा व्यावसायी दिपक रसाइलीले बताउनु भयो । उहाँले भन्नु भयो–‘गाउँपालिकाका जनप्रतिनिधिहरु आफ्नो स्वार्थमा लिप्त छन् । काम गर्ने र व्यावसाय गर्ने हामीहरु दरभाउ तोक्ने उनीहरु, यहाँ कुखुरा दैनिक मर्छन् । चारो ओसार्न, औषधी पानी गर्ने प्राविधिक छैनन् । फोनका भरमा औषधी उपचार गराउनु पर्छ । गतिलो प्राविधिक छैनन् तर गाउँपालिकाको तर्फबाट ५० रुपैया कम दरभाउ तोकिदिएका छन् । हामी ग्राहकसँग सम्बन्ध राख्छौं नेतासँग होइन् ।’
बेरोजगारीका कारण बिदेश पलायन हुनुपर्ने अवस्थालाई रोक्न बोइलर कुखुरा पालनको फारम खोलेको उहाँको भनाई छ । २ लाख लगानीमा ३ लाख भन्दा बढि मुनाफा हुने भएपछि यस व्यावसाय राम्रो आम्दानीको श्रोत हुने सञ्चालक दिपक रसाइली बताउनु हुन्छ । सानो बजार भएका कारण धेरै कुखुरा लगाउँदा अलि समस्या भए पनि आगमी दिनमा यसलाई व्यवस्थित बनाउने उहाँले बताउनु भयो ।
राज्यले युवाहरलाई उद्यमशील बनाउने र स्वरोजगार बनाउने नाममा ठूलो धनराशी खर्च गरेको भए पनि वास्तविक गरेर खान चाहनेहरुले नपाएको गुनासो उहाँहरुको छ । ७ किलोको बाख्राको पाठालाई ७० हजारसम्म लगाएर अनुदानको पैसा स्थानीय सरकारले हिनामिना गरेको उहाँको आरोप छ । आफुहरुले राज्यको तर्फबाट केहि आशा नगरेको र कम्तिमा आफ्नो गाउँघरका मानिसलाई सेवा सुविधा दिन पाएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *