धर्नामा बसेका निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रिँदै : चिकत्सकद्वारा धर्नास्थलमै स्वास्थ्य परीक्षण

२९ कात्तिक, कञ्चनपुर । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म न्याय नपाएको भन्दै धर्नामा बसेका निर्मलाको परिवारो स्वास्थ्य अवस्था बिग्रिएको छ । घटना भएको साढे तीन महिना बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै पीडित परिवारले आइतबारबाट जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका थिए ।

पाँच दिनदेखि निरन्तर रुपमा धर्नामा बसेका कारण पछिल्लो समय निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको छ । चिसोका कारण पीडित परिवारमा रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएपछि बिहीबार स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका छन् ।

आफूहरु छोरीको न्यायका लागि धर्नामा बसे पनि सरकारी पक्षबाट कुनै वास्ता नभएको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताउनुभयो । उहाँले धर्नाको पाँचौं दिन बितिसक्दा पनि सरकार पक्षका कुनै पनि अधिकारीले आफूहरुको मागका विषयमा चासो नदिएको गुनासो गर्नुभयो ।

यता, चिसोका कारण निर्मलाका बुवा यज्ञराजको अवस्था निकै कमजोर भएको छ । उहाँको रक्तचाप घटेर ६७ पुगेको चिकित्कको भनाइ छ । कमजोरीका कारण निर्मलाका बुवाको स्वास्थ्य अवस्था एकदमै बिग्रिएको महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराले बताउनुभयो ।

 

‘समयमै खानपिन नहुँदा र अनिदोका कारण बुवाको अवस्था निकै कमजोर छ’, डा. बोहराले भन्नुभयो ‘उहाँमा ज्वरो पनि देखिएको छ । हामी रगत, पिसाब, आरबीसी, डब्लुबीसी जाँचका लागि प्रयोगशालामा पठाएका छौँ ।’

चिकित्सकका अनुसार प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्रै थप उपचारका लागि अन्त रिफर गर्नुपर्ने वा यति उपचार गर्ने भन्ने यकिन हुनेछ ।

यस्तै, निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख एसपी कुबेर कडायतले धर्ना स्थलमा पुगेर स्वास्थ्यकर्मीसँग पीडित परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । – UjyaloOnline

Leave a comment

Your email address will not be published. Required fields are marked *