२५ फिट अग्लो बुद्धको मूर्ति बन्दै ,एकै दिन १६ लाख संकलन

२४ मंसिर,काठमाडौं । हेटौंडा–१८ को हर्नामाडीस्थित ‘कलागाउँ’ का रुपमा परिचित गुम्बाडाँडालाई बौद्धमय बनाउन शाक्यमुनि गौतम बुद्धको २५ फिट अग्लो ढुंगाबाट निर्माण गरी स्थापना गरिने मूर्तिका लागि एकै दिन करिब १६ लाख रुपियाँ संकलन भएको छ । मूर्ति निर्माण तदर्थ समितिले शनिबार काठमाडौंको बौद्धमा आयोजना गरेको एक कार्यक्रममा १६ लाख ४० हजार रुपियाँ सहयोग संकलन भएको हो ।

 

गत वर्षको बुद्ध पूर्णिमाका दिन शिलान्यास गरिएको मूर्ति निर्माण तथा स्थापना र उक्त स्थानमा पार्कलगायत संरचना निर्माणका लागि करिब ३ करोड खर्च अनुमान गरिएको मूर्ति स्थापना समितिका संयोजक हेटौंडाका समाजसेवी कमलचन्द्र सुमनले बताउनुभयो । उहाँले मूर्ति स्थापनापछि उक्त क्षेत्रको मुहार फेरिने बताउनुभयो ।

उहाँका अनुसार मूर्ति स्थापनासँगै उक्त क्षेत्रमा विभिन्न भवनहरु, पानीट्यांकी, मनोरञ्जन पार्क, कम्पाउण्डवाल र अन्य संरचना बन्नेछन् । कार्यक्रममा सुमनले उक्त क्षेत्रको नेपाल एकीकरणताकाको इतिहास, मूर्ति स्थापनाको अवधारणा, आवश्यकता, उद्धेश्य, लागत आदि विषयबस्तुबारे प्रकाश पार्नुभएको थियो ।

प्रदेश–३ सभा सदस्य छिरिङ दोर्जेलामाले स्थानीय र प्रदेश सरकारले यस कार्यमा सहयोग गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले आफूआवद्ध दल नेपाली कांग्रेसको तर्फबाट यथाशक्य सहयोग गरिने विश्वास दिलाउनुभयो ।मूर्ति निर्माण तदर्थ समिति अध्यक्ष सम्पूर्णकुमार लामाले बुद्धको शान्तिको सन्देश गाउँगाउँमा पु¥याउनुपर्ने भन्दै आफूहरुले अभियान थालेको बताउनुभयो  नेपालसमाचारपत्रमा खबर छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *