बिमस्टेक सम्मेलनमा ५ दिन विमानस्थल प्रभावित हुने

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको सुरक्षा कमान्ड नेपाली सेनाले गर्ने भएको छ ।

सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनाएको सरकारले सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई परिचालन गर्नेछ।

सेनाकै सुरक्षा योजनाअनुसार अन्य सुरक्षा एजेन्सी परिचालित हुनेछन् । सबै सुरक्षा निकायका करिब १७ हजार सुरक्षाकर्मी खटिनेछन् ।

हेलिकोप्टरबाट पनि निगरानी

सम्मेलन अवधिभर सम्मेलनस्थल तथा भिभिआइपी आवागमन क्षेत्रमा सेनाले हवाई गस्ती गर्नेछ । सैनिक प्रवक्ता गोकुल भण्डारीले भने, ‘बिमस्टेक सम्मेलन अवधिभर हवाई प्याट्रोलिङ हुनेछ । विशेषगरी सम्मेलनस्थल तथा भिभिआइपी आवागमन गर्ने क्षेत्रमा हवाई गस्ती हुनेछ।’

भिभिआइपी उडानले ५ दिन विमानस्थल प्रभावित हुने

बिमस्टेकको चौथो सम्मेलनका लागि मंगलबारबाटै अतिविशिष्ट पाहुना नेपाल आउनेक्रम सुरु हुँदै छ।

जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि शनिबारसम्म प्रभावित हुने भएको छ । सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौंं आइपुग्नेछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्रप्रमुख या सरकारप्रमुखको आवागमनका समयमा कम्तीमा आधा घन्टा विमानस्थल बन्द हुन्छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *