वैशाखदेखि नै पाइपलाइनबाट इन्धन झार्ने तयारी

१६ पुस, पर्सा । निर्धारित समयभित्र पर्सा राष्ट्रिय निकुञ्जबाट रूख काट्ने प्रक्रिया अघि बढे वैशाखदेखि पाइपलाइनबाट अमलेखगञ्ज डिपोमा डिजेल आउने भएको छ। पहिलो चरणमा वैशाखदेखि नै पाइपलाइनबाट इन्धन झार्न नेपाल आयल निगमले केही साताअघि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पनि स्वीकृत गराइसकेको छ। ‘हामी वैशाखको पहिलो सातासम्ममा पाइपलाइनबाट डिजेल ल्याउन द्रुतगतिमा काम गरिरहेका छौं’, मोतिहारी–अमलेखगञ्ज पाइपलाइन आयोजनाका संयोजक भानु खनालले भने, ‘सबैभन्दा झण्झटिलो प्रक्रिया ईआईए पनि स्वीकृत भइसकेको छ। यो चरण पार भएसँगै कामले गति लिएको हो।’

ईआईएले पर्सा राष्ट्रिय निकुञ्जबाट पाइपलाइन ओछ्याउन ६ हजार पाँच सय ६३ वटा ठूला रूख काट्न मिल्ने गरी प्रतिवेदनसहितको स्वीकृति प्रदान गरेको छ। एउटा रूख कटान गरेबापत मन्त्रालयले तोेकेको स्थानमा २५ वटा रोपेर पाँच वर्षसम्म हुर्काउनुपर्ने सुझाव दिइएको छ। खनालका अनुसार निगमले वन क्षेत्रबाट पाइपलाइन लानका लागि रूख कटानीका विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्राचार गरिसकेको छ।

ईआईए स्वीकृत पश्चात् वन तथा वातावरण मन्त्रालयले रूखको पुनः ग्रेडिङ गरी मूल्यांकन गर्ने काम पनि सम्पन्न गरिसकेको छ। यसअनुसार पाइपलाइन ओछ्याइने रुटमा ६ हजार पाँच सय ६३ वटा रूखमध्ये आवश्यकताका आधारमा रूख कटान गर्न सकिनेछ। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब आठ किलोमिटर पाइपलाइन ओछ्याइनेछ अन्नपूर्णपोस्टमा खबर छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *