वैशाखबाट नेपालको आफ्नै भू–उपग्रह

१८ पुष रासस । नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो।

‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई दुई करोड रूपैयाँ उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए। सरकारले सहुलियत मूल्यमा तीनवटा भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी दिँदै उनले आगामी वैशाखसम्ममा प्रक्षेपणको तयारी भइरहेको बताए ।

वैशाखदेखि प्रक्षेपण हुने उक्त भू–उपग्रहबाट दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गर्नेछ।

सङ्काय प्रमुख ढकालले भने, ‘२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भू–उपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ।’

प्रक्षेपणपछि नेपालको आफ्नै भू–उपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ। सफल प्रक्षेपणपछि नेपालका इञ्जिनीयर अन्य मुलुकभन्दा कम छैनन् भन्ने प्रमाणित पनि हुनेछ।

उक्त भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ। प्राप्त हुने तस्वीर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ। नेपालले भाडाका भू–उपग्रहबाट सूचना तथा जानकारी लिँदै आएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *