विर्तामोडमा माघ ११ देखि अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलाको आयोजना हुने

विर्तामोड । निकै लामो अवधिपछि झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलाको आयोजना हुने भएको छ ।

विर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजना र रमपम चाउचाउको मुख्य प्रायोजनमा आगामी माघ ११ देखि २३ गतेसम्म हुने विर्तामोड ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’लाई झापामा अहिलेसम्म हँुदै आएकामध्ये सबैभन्दा वृहत र व्यवस्थित बनाउने तयारी गरिएको छ ।

विहीवार पत्रकार सम्मेलन गरी सङ्घले महोत्सवमा २ लाखले अवलोकन गर्ने आशा गरिएको जनाएको छ । महोत्सवमा नेपाल र छिमेकी मुलुकका स्टलहरु रहने भएका छन् ।

अध्यक्ष कुमार भट्टराईले महोत्सवमा भारत, बङ्गलादेश र पाकिस्तानका स्टल रहने र चीन तथा थाइल्यान्डका व्यवसायीहरुसँग स्टल राख्ने बारे कुराकानी भइरहेको पत्रकारहरुलाई जानकारी दिए ।

महोत्सवस्थललाई विशेष रुपमा सिंगारिने, धुलो नहुने गरी कार्पेट विछ्याइने र सुरक्षाको भरपर्दो प्रबनध मिलाइने सङ्घका महासचिव प्रशान्त भण्डारी बताउँछन् ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया, सङ्घका उद्योग उपाध्यक्ष प्रकाश शिवाकोटी, महोत्सवका व्यवस्थापक ललित सिंखडा, पूर्व अध्यक्ष बलराम कार्की लगायतले मन्तब्य राखेका थिए ।

महोत्सवको आकर्षण बढाउन हेलिकोप्टर सेवा समेत मेला अवधिभर सञ्चालनका लागि पहल भइरहेको अध्यक्ष भट्टराई बताउँछन् ।
मेलामा प्रवेशका लागि अवलोकनकर्ताले ५० रुपैयाँ तिर्नु पर्ने र मार्सी चामलको समेत एउटा स्टल रहने बताइएको छ ।
महोत्सवको अनुमानित लागत १ करोड ५ लाख रहने बताइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *