निर्मला हत्याकाण्ड : डीएनएका लागि रगत संकलन गर्दा आमामाथि हातपात

२६ पुस, कञ्चनपुर । निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि परिवारमा विवाद भएको छ ।

निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न निर्मलाकी आमाले रगत नमुना संकलन गरेपछि परिवारमा विवाद भएको हो ।

परिवारको सल्लाहबिना रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी पन्तले असन्तुष्टि जनाउनु भएको हो ।

निर्मलाकी आमाले डीएनएका लागि बुधबार रगत संकलन गरेको विषयलाई लिएर घरमा विवाद भएको छिमेकी मञ्जु भट्टले बताउनुभयो । उहाँले राहतको विषयमा पनि परिवारमा द्वन्द्व भएको बताउनुभयो ।

निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गरेर प्रहरीलाई दिनुभएको थियो ।

डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताउनुभयो । ‘निर्मलाको स्वाबमा भएको डीएनए सही हो कि होइन भनेर जाँच्नुपर्ने माग हामीले नै गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘बुवा र मेरा रगतको नमुना लिने कुरा थियो । म तीन–चार दिन जिल्ला प्रशासन कार्यालय गएँ तर बुवा नगएपछि हिजो बाध्य भएर एक्लै रगतको नमुना संकलन गरेँ ।’

रगतको नमुना संकलन गराएपछि आफूलाई श्रीमानले हातपात गरेको दुर्गादेवीले बताउनुभयो । बिहान खाना पकाउँदै गर्दा श्रीमानले आफ्नो घाँटी अठ्याउँदै कुटपिट गरेको दुर्गादेवीले बताउनुभयो ।

छोरीको हत्या भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएको बताउँदै आफूले राहत रकम बुझ्ने निर्णयसमेत गरेको उहाँले बताउनुभयो ।

तर, आमाले राहत रकम बुझ्ने निर्णय गरे पनि निर्मलाका बुबाले भने असन्तुष्टि जनाउनुभएको छ । ‘छोरीले लामो समय बितिसक्दा पनि न्याय पाएकी छैन । अब आन्दोलन पनि सेलाउँदै गएको छ’, दुर्गादेवीले भन्नुभयो ‘त्यसैले मैले धर्ना बस्नुको कुनै अर्थ छैन । बरु राहतको रकम बुझेर सरकारलाई अनुसन्धानका लागि सहयोग गर्नुपर्छ भन्ने सोचेँ । ’

आफूले राहत रकम बुझ्न खोज्दा श्रीमान र सौताले आफूमाथि नै छोरीको हत्या गरेको आरोप लगाएको पनि दुर्गादेवीले गुनासो गर्नुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *