डा. केसीको मुटुको चाल ३५ देखि २०० सम्म, अक्सिजनको कमीले बेहोस हुनसक्ने

३ माघ, इलाम । चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा ९ दिनदेखि १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको शरीरमा ग्लुकोजको मात्रा न्यून हुन गएकाले ग्लुकोजको सुई दिनुपर्ने देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । तर डा. केसीले ग्लुकोजको सुई लिन अस्विकार गरेका उपचारका संलग्न चिकित्सक डा. विजेन्द्रकुमार शाहले बताए ।

आज बिहीबार बिहानको स्वास्थ्य परीक्षणमा डा. केसीको शरीरमा सेतो रक्त कोषिका कम हुँदै गएको, पानीको मात्रा कम भई मिर्गौलाले काम गर्न छोड्ने खतरा बढेको, मुटुको चालमा अनियमितता,  क्याल्सियमको मात्रा कम, शरीरमा अक्सिजनको मात्रा न्यून रहेका कारण जुनसुकै समय बेहोस हुन सक्नेलगायत समस्या देखिएको डा. शाहले जानकारी दिए । उनले भने, “डा. केसीले राति पेट र टाउको दुखेको बताउनु भएको थियो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट विशेषज्ञ चिकित्सकको टोली त आएको छ तर यहाँ आईसीयू, सीसीयू छैन । भएको अस्पतालमा लगेर उपचार गनुपर्ने सुझाव दिएर राति नै उहाँहरु फर्किनुभयो ।”

शरीर कमजोर भई निमोनियाजस्ता प्राणघातक संक्रमण हुन सक्ने बुधबार बेलुुकी प्रतिष्ठानको विशेषज्ञ स्वास्थ्यकर्मीको टोलीले गरेको स्वास्थ्य परीक्षणमा बताएको थियो । टोलीले जुनसुकै समयमा कृत्रिम अक्सिजन आवश्यक पर्ने देखिएको औंल्याएको थियो ।

विशेषज्ञ टोलीको परीक्षणका क्रममा डा. केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म कम भई श्वासप्रश्वासमा समस्या भएको पाइएको छ । मुटुको चाल नियन्त्रणका लागि डा. केसीले खाँदै आएको औषधी अनशनका कारण छुटेकाले मुटुको चालमा भारी अनियमितता आएको छ । मुटुको चाल कहिले ३५ मा झर्ने त कहिले ह्वात्तै बढेर २०० सम्म पुग्ने गरेको छ ।

१५ औं अनशनका क्रममा भएको सहमतिअनुसार संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित नगरेको भन्दै केसी अनशन बसेका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *