अनसनमा बसेका डाक्टर केसी शिक्षण अस्पतालमा भर्ना

४ माघ, काठमाण्डौ । १६ औं पटक अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन शुक्रबार बिहान ३ बजेतिर उहाँलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो ।

मुटुको चाल अस्थिर भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने डाक्टरको चेतावनीपछि उहाँलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा र भद्रपुरबाट नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको उहाँका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी दिनुभयो ।

१० दिनदेखि अनसनमा रहेका डाक्टर केसीको अवस्था बुझ्न र समर्थन गर्न बिहीबार पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमालगायत इलाम पुग्नुभएको थियो ।

उहाँहरुकै अनुरोधमा डाक्टर केसीलाई काठमाण्डौ आउन मनाइएको र नेपाली सेनाको हेलिकप्टर मगाएर काठमाण्डौ ल्याइएको डाक्टर सिंहले जानकारी दिनुभयो । सुरुमा केसी काठमाण्डौ आउन तयार नभए पनि प्राध्यापक माथेमाको आग्रहपछि आउन तयार हुनुभएको उहाँले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *