निर्मला पन्तको हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ भए पनि छाडिन्न : गृहमन्त्री थापा

२३ माघ,काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त हत्याको हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यो प्रकरणमा सरकार गम्भीर भएर अनुसन्धान गरिरहेको बताउनुभयो ।

नेपाली कांग्रेस सांसद डिला संग्रौलाले पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री थापाले अपराधीलाई राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानुनको कठघरामा ल्याएरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जति पनि अपराध भइरहेको छ, विशेषगरि महिला हिंसा र महिलासँग सम्बन्धित त्यसमध्ये झण्डै ९६ प्रतिशत मुद्धाहरुको निराकरण गरेको भन्दै केही घटनाहरु मात्रै अपवादको रुपमा देखिएको बताउनुभयो ।

निर्मला पन्तको हत्या यस्तै अपवादको रुपमा रहेकाले केही समय लागेको भन्दै उहाँले त्यसलाई जतिसक्दो छिटो टुंगो लगाउने गरी सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताउनुभयो ।

यस्तै गएको साउन २० गते काठमाण्डौको काडाघारीका ११ वर्षिय बालक निशान खड्काको हत्या प्रकरणमा संलग्नको ‘इन्काउन्टर’ मा ज्यान जानु स्वभाविक घटना रहेको गृहमन्त्री थापाले बताउनुभयो ।

अपराधीहरुलाई पक्रने क्रममा प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा उनीहरुको ज्यान गएको गृहमन्त्रीले प्रस्ट पार्नुभयो ।
प्रहरीले प्रहार गरेको गोली लागेर गोपाल तामाङ र अजय तामाङको ज्यान गएको थियो । प्रहरीले दुवै जनाले बालक खड्काको अपहरण गरेर हत्या गरेको घटना पश्चात दावी गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *