प्रदेश १ का मुख्यमन्त्रीलाई प्रदेशसभा बैठकमै महिला हिंसाको आरोप

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाको बैठकमा बोल्ने विपक्षी दलका सचेतकले बुधबार मुख्यमन्त्रीमाथि महिला हिंसाजस्तो जघन्य विषय जोडेर प्रश्न उठाएपछि हल्लीखल्ली शुरु भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि महिला हिंसाको घटनामा उनको नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश सभा बैठकमा सरकारको धारणा माग समेत गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकको विषेश समयमा बोल्दै कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले मुख्यमन्त्री राईमाथि महिला हिंसासम्बन्धी आरोप लागेको भन्दै यसबारे प्रदेश सरकारको धारणा माग गरेका छन ।

‘मुख्यमन्त्री राईमाथि महिला हिंसाको विषयमा नाम जोडियो’ कांग्रेस सचेतक कार्कीले भने ‘आम जनताले यस विषयमा हामीलाई सोध्ने काम भयो, हाम्रो शीर निहुरियो । तर, सरकारको तर्फबाट यस विषयमा न कुनै स्पष्टीकरण आयो, न कुनै सन्देश,’ कार्कीले प्रदेशसभामा प्रश्न गरे, ‘सरकार किन चुँइक्क बोलेन ?’ मुख्यमन्त्री राईमाथि केही समयअघि नेकपाकै कार्यकर्ता रहेकी एक महिलाले आफू हिंसाको शिकार भएको आरोप लगाएकी थिइन् । उनले यस्तो आरोप धेरै पहिलेदेखि नै लगाउँदै आए पनि अप्रमाणित रहँदै आएको छ ।

आफ्नो चरित्र हत्या गर्न पार्टीभित्रैबाट प्रपञ्च रचिएको मुख्यमन्त्री राईले दुईवर्ष अघिदेखि नै जवाफ दिँदै आएका छन् । तै पनि उनलाई यो आरोपले पछ्याउन छाडेको छैन । मुख्यमन्त्री राई अहिलेसम्म अविवाहित छन् । जबजब उनको विवाहको कुरा चल्छ, उनै महिलाको विषय सामाजिक सञ्जालमा आउने गर्छ । यही क्रममा बुधबार मुख्यमन्त्री राईमाथि लागेको वैयक्तिक आरोपबारे कांग्रेस सांसदले बोलेपछि यो विषय प्रदेशसभाको रेकर्डमा रहेको छ । सभामुखले यसलाई रेकर्डबाट हटाउन कुनै रुलिङ गरेनन् ।

कांग्रेस सचेतक कार्कीले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संघीय सरकारसमक्ष निरीह भएर रुँदै हिँडेको आरोपसमेत लगाए । उनले प्रदेश सरकारले प्रदेशका जनताको पक्षमा काम गर्नु भन्दा पनि दुई तिहाइको दम्भ पालेर अति नै पात्तिने र जथाभावी बोल्ने गरेको बताए ।
संसदीय परम्पराअनुसार सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले मर्यादित भाषामा प्रस्तुत हुनुपर्ने,कसैमाथि पनि व्यक्तिगत एवं अप्रमाणित आक्षेपहरु लगाउनुनहुने भएपनि बुधबार बसेको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक भने ठिक त्यसको बिपरित देखिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *