प्रदेश नम्बर–१ निकै भीडभाड हुने राम्रा वनभोज स्थलहरू : फोटो सहित

प्रदेश नम्बर–१ मा धेरै राम्रा वनभोज स्थलहरू छन् । सुनसरी, मोरङ, झापा, इलाम तथा धनकुटाका चर्चित वनभोजस्थलहरूमा अहिले निकै भीडभाड छ । एक नम्बर प्रदेशका केही चर्चित वनभोज स्थल :

कन्याम

इलामको कन्याम लोकप्रिय पिकनिक गन्तव्य हो । ढकमक्क हरियाली चियाबारी भएको यो पिकनिक गन्तव्यमा नेपाल मात्र होइन, इलामसँग सिमाना जोडिएका भारतीय क्षेत्रका पर्यटकहरूसमेत आउँछन् । पिकनिकको सिजनमा यहाँ दैनिक २५ देखि ५० वटा समूहले पिकनिक खाइरहेका हुन्छन् ।

माईपोखरी

इलाम बजारबाट १५ किलोमिटर उत्तरमा अवस्थित माईपोखरी इलामको अर्को महत्वपूर्ण पिकनिक गन्तव्य हो । समुन्द्री सतहबाट २ हजार १ सय ३० मिटरको उचाइमा अवस्थित यो पोखरी वनस्पति, चराचुरुंगी, जलचर तथा थलचर मात्र नभई आकर्षक प्राकृतिक बनावटका कारणसमेत चर्चित छ ।

जामनुखाडी

झापाको कन्काई नगरपालिकामा पर्ने जामुनखाडीमा अहिले पिकनिक जानेहरूको भीड बढेको छ । झापाको सुरुङ्गा बजारबाट २ किलोमिटर तथा महेन्द्र राजमार्गबाट १ किलोमिटर उत्तरमा रहेको जामुनखाडी २६ दशमलव ५४ हेक्टरमा फैलिएको छ । यहाँ दैनिक औसतमा ५ सय आगन्तुक आउने बताइन्छ । दुुर्लभ वन्यजन्तुको अवलोकन, झोलुङ्गे पुल, हरिण पार्क, बाल उद्यान, बोटिङ आदिका कारण जामुनखाडीको आकर्षण बढ्दो छ । 

बर्जुताल सुनसरी

सुनसरीको बर्जु गाउँपालिका–६ स्थित १ सय ५१ विघा क्षेत्रफलमा फैलिएको बर्जुतालमा १ सय विघाको जलाशय क्षेत्र छ । अहिले यहाँ तालको छेउमा वनभोज खान आउनेहरूको भीड बढेको छ । विराटनगर, बरगाछीबाट ८ किलोमिटर पश्चिम हिडेपछि बर्जुताल पुग्न सकिन्छ ।

भेडेटार

सुनसरी र धनकुटाको सिमानामा अवस्थित भेडेटार धरान बजारबाट १७ किलोमिटरको दूरीमा छ । भेडेटारको भ्यू टावरबाट मकालु, कञ्चनजंघा तथा सगरमाथाजस्ता विश्वका सर्वोच्च शिखरहरू मात्र होइन, पूर्वी तराईका हरियाली फाँटहरू समेत देख्न पाइन्छ ।

राजारानी

भेडेटारबाट २० किलोमिटर टाढा पर्ने राजारानी आकर्षक भू–बनौट एवं सुन्दर तालका कारण चर्चामा छ । पूर्वी तराईका थुप्रै पिकनिक पारखीहरूले राजारानीलाई गन्तव्य बनाइरहेका छन् ।

बेतना सिमसार

मोरङको बेलबारी नगरपालिकामा पर्ने बेतना सिमसार क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र हो । १ सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएर पूर्व–पश्चिम राजमार्गनजिकै रहेको बेतना सिमसार क्षेत्रमा पिकनिक, बोटिङ, जंगल सफारी गर्न आउनेहरूका अतिरिक्त दैनिक १० वटा समूह वनभोज खान पुग्ने गरेको बताइन्छ ।

मूलघाट

धनकुटा नगरपालिका तथा साँघुरीगढी गाउँपालिकाअन्तर्गत पर्ने मूलघाटको तमोर नदीको किनारमा पुस र माघको जाडोमा पिकनिक खानेहरूको भीड लाग्छ । तमोर नदीको किनारमा वनभोज खान तराईका जिल्लाबाट दैनिक ८ देखि १० वटा समूह आउने स्थानीय बासिन्दाहरू बताउँछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *