धरानमा नयाँ बसपार्क विवादमा : स्थानीयको विरोधपछि प्रहरी खटाएर शिलान्यास

२७ माघ, धरान । धरान उपमहानगरपालिकाले विस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) तयार नगरी तीनकुने सुन्दर बस्ती आयोजनास्थलमा नयाँ बसपार्क शिलान्यास गरेपछि जग्गाधनी विरोधमा उत्रेका छन् ।

प्रदेश नम्बर १ सरकारले बसपार्कका लागि एक करोड रुपैयाँ दिएपछि धरान उपमहानगरपालिकाले आइतवार तीनकुनेमा नयाँ बसपार्कको शिालन्यास गरेको छ ।

स्थानीय जग्गाधनीको सहमतिबिना बसपार्क निर्माण थालेको भन्दै विरोधमा उत्रधेपछि उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले आइतवार प्रहरी लगाएर नयाँ बसपार्कको शिलान्यास गरिन् ।

उपमहानगरपालिकाले बसपार्क शिलान्यास तयारी गरिरहँदा स्थानीय जग्गाधनीहरु कालोझण्डा, माइक र व्यानरसहित धरानका जनप्रतिनिधिविरुद्ध विरोधमा उत्रिएका थिए । तर आन्दोलनकारीलाई प्रहरीले घेरा हालेपछि बसपार्क शिलान्यास शान्तिपूर्वक सम्पन्न भएको छ ।

बसपार्कको शिलान्यास डीपीआरबिना हचुवाको भरमा गरेको भन्दै उपमहानगरपालिका नेतृत्व गरेको नेकपाकै नेताहरुलेसमेत आलोचना गरेका छन् ।

उपमहानगरले नयाँ बसपार्कको शिलन्यास प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीबाट गराउने तयारी गरेको थियो । तर उनी नआएपसछि कार्यबाहक मेयर भण्डारीले आफै गरेकी हुन् ।

बसपार्क शिलान्यास गर्दै भण्डारीले विरोधमा उत्रिएका जग्गाधनीलाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताइन् । उनले बसपार्क निर्माण हुँदा आसपासका बासिन्दाको घरजग्गाको मूल्य बढ्ने, बाटो कालोपत्रे हुने, ढलनिकास हुने भएकाले विरोध गर्नु गलत भएको बताइन् ।

धरान–१५ का वडाअध्यक्ष नरेशकुमार इवारमले सपार्क निर्माणले धरानका सबैको हित हुने बताउँदै आसपासका बासिन्दालाई बढी लाभ हुने भएकाले विरोध गर्न छाडेर सहमतिमा आउन जग्गाधनीहरुलाई अनुरोध गरेका छन् ।

नेकपाका स्थानीय नेता चोत्लुङ लिम्बुले जग्गादातालाई उठिवास लगाएर उपमहानरपालिकाले बसपार्क बनाउन उचित नहुने धारण राखेका छन् । उनले जग्गाधनीहरुका माग समबोधन गरी मुअब्जा दिएर बसपार्कको निर्माण अगाडि बढाउन जनप्रतिनिधिलाई सुझाव दिए ।

तीनकुनेस्थित  रेडियो नेपालको टावर नजिकै धरान उपमहानगरपालिकाले बसपार्क बनाउन भएपछि स्थानीय जग्गाधनीहरुले पाँच बिघा जग्गा निःशुल्क दिएका थिए ।

तर, कर्मचारीले झुक्याएर स्थानीयलाई हस्ताक्षर गर्न लगाई उठिबास हुने गरी सबै जग्गा उपमहानगरको नाममा पारेपछि जग्गा धनीहरुले ५० प्रतिशत जग्गा फिर्ता माग राखेर बसपार्क निर्माणको विरोध गर्नुपरेको स्थानीय तुलसा गुरुङले बताइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *