टिपरको लापरबाही उस्तै : फेरि लियो अर्को ज्यान

२७ माघ, विराटनगर । मोरङको विराटनगर महानगरपालिका-२ बरगाछीमा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट आइतबार एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचामा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटना सेलाउन नपाउँदै विराटनगरमा टिपरकै कारण अर्को दुर्घटना भएको हो ।

पूर्वबाट बरगाछी चौकमा आइपुगेर दक्षिणतर्फ मोडिन खोजेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनसार मृतक अन्दाजी ४५/५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलिसकेको छैन । उत्तरबाट साईकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकैमा टिपरको पछाडिको चक्काले पुरुषलाई ठक्कर दिँदा घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक निलमणि पोखरेलले बताए ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगेको छ । अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खुल्न गाह्रो भएको प्रहरीले जनाएको छ । टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका-९ मा गत माघ १३ गते टिपरको ठक्करबाट ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । घटनापछि आक्रोसित स्थानीय बासिन्दाले सातवटा टिपरमा आगजनी गरेका थिए । त्यो घटना भएको दुई साता पनि वित्न नपाउँदै विराटनगरमा टिपरकै कारण अर्का व्यक्तिको मृत्यु भएको हो । – AnnapurnaPost

Leave a comment

Your email address will not be published. Required fields are marked *