बंगलादेशको ढाकामा भीषण आगलागी, ५० जनाको ज्यान गयो

बंगलादेशको राजधानी ढाकाको व्यस्त क्षेत्रमा भीषण आगलागी हुँदा कम्तीमा ५० जनाको ज्यान गएको छ ।

बुधबार रातिबाट सुरु भएकाे आगलागीमा परि कम्तीमा ४० जना गम्भीर घाइते भएको डेली स्टारले जनाएको छ ।

अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानका अनुसार हताहत हुनेको संख्या अझै बढ्न सक्नेछ ।

राजधानीको पुरानो शहर क्षेत्रको चोक बजारमा रहेको रासायनिक पदार्थ राखिएको घरबाट फैलिएको आगो आसपासका घरमा समेत लागेको थियो । आगो निभाउनका लागि ३७ वटा दमकल प्रयोग गरिएको थियो । अहिलेसम्म १२ जनाको शव निकालिएको छ भने आगो लगभग निभाइसकिएको छ ।

आगो पूर्ण रुपमा निभाइसकेपछि अरु शवहरु निकालिने बंगलादेशी अधिकारीले जानकारी दिएका छन् ।

आगो लाग्नुको कारण भने खुलेको छैन ।  आसपासका केही मानिसहरुले भने सिलिण्डर पड्केर आगलागी सुरु भएको बताएका छन् ।

यसअघि सन् २०१० मा बंगलादेशको निमतोलीमा आगलागी हुँदा १२३ जनाको ज्यान गएको थियो । त्यसपछि लगातार रासायनिक पदार्थको गोदामा मानव बस्ती वरपर नराख्न सरकारलाई दबाद दिइँदै आएको भए पनि प्रभावकारी हुन सकेको छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *