अस्ट्रेलियाली दूतावासबाट राहत :- नेपाली विद्यार्थीले तत्काल घर फर्किनु पर्दैन

१० फागुन । अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को निर्णय नभएसम्म त्यहीं पढाइलाई निरन्तरता दिन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले आग्रह गरेको छ ।संस्था बन्द गर्नुअघि एआइबिटीले ती विद्यार्थीलाई अर्को संस्थामा सार्नुपर्ने वा उनीहरूको पैसा फिर्ता गर्नुपर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यही संस्थामा पढाइलाई निरन्तरता दिए मात्रै विद्यार्थीको भिसाको कानुनी आधार सुनिश्चित हुने पनि दूतावासले स्पष्ट पारेको छ ।

‘एआइबिटी बन्द हुनुअघि उसले विद्यार्थीलाई वैकल्पिक पाठ्यक्रम अध्ययनको सुनिश्चितता गर्नु पर्नेछ, अथवा खर्च हुन बाँकी ट्युसन शुल्क विद्यार्थीलाई फिर्ता गर्नुपर्नेछ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ ।नर्सिङ तथा मिडवाइफ्रीमा डिप्लोमा सञ्चालन गर्न एआइबिटीले अनुमति नलिएको विषयमा अध्ययन थालिएको पनि दूतावासले जनाएको छ । अस्ट्रेलियाको गृह मामिला विभागले भिसा रद्द गर्नुअघि कम्तीमा २८ दिनदेखि ३ महिनासम्म समय उपलब्ध गराउने र विद्यार्थीको केसका आधारमा यो समयावधि बढाउन सक्ने बताउँदै दूतावासले नआत्तिन नेपाली विद्यार्थीलाई आग्रह गरेको छ ।

एसोसियसन अफ अस्ट्रेलियन एजुुकेसन रेप्रिजेन्टेटिभ्स इन नेपाल (एएईआरआई नेपाल) ले अस्ट्रेलियामा संकटमा परेका विद्यार्थीहरूको समस्या समाधानका लागि पहल गरिरहेको बताएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै उसले अस्ट्रेलियामा समस्यामा परेका विद्यार्थी र उनीहरूको भिसा सम्बन्धमा सरोकारवाला निकायसँग पहल गरिरहेको जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *