टी–२० महिला विश्वकप छनोट : नेपालले कुवेतलाई ३० रनले हरायो

टी–२० र एकदिवसीय महिला विश्वकपका लागि पहिलो खुड्किलोको रुपमा रहेको एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ ।

बुधबार ११७ रनको लक्ष्य पछ्याएको कुवेतविरुद्ध अन्तिम ओभरमा कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिइन् । रुबिनाले अन्तिम ओभरको अन्तिम तीन बलमा कुवेतका ब्याट्सवुमनहरु क्रमशः खादिजा खालिल, मदिहा जुवेरी र जिफा जिलानीलाई बेल्ड आउट गरेकी हुन् ।

कप्तान रुबिनाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीले पनि ३ विकेट लिइन् भने नेरी थापा र कविता कुँवरले एक एक विकेट लिएपछि नेपालको जित सहज भएको हो । रुबिनाको अन्तर्राष्ट्रिय महिला क्रिकेटमा दोस्रो ह्याट्रिक हो ।

करुणा भण्डारी र सवनम राईले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट लिएका छन् । कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८६ रनमात्र बानउन सक्यो । अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको कुवेतका लागि सुरुवाति ब्याट्सवुमनले उत्कृष्ट खेले । ओपनरहरु प्रियादा मुरली र सब्रिन जादीले क्रमशः १४ र १२ रन बनाए भने तेस्रो नम्बरमा आएकी कप्तान मार्यम ओमारले सर्वाधिक २९ रन बनाइन् ।

यसअघिका पाँचै खेलमा पराजित भएको कुवेतले नेपालबिरुद्ध भने दबाबरहित देखिएको थियो । यसअघि थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्यूट टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११६ रनको सम्मानित योगफल बनाएको थियो ।

ओपनर सीता रानामगर खाता नखोली आउट भए पनि अर्की ओपनर काजल श्रेष्ठले १८ रनको पारी खेलिन् । इन्दू बर्मा र रोमा थापाले समान ७ रन बनाउँदा सरिता मगरले पनि खाता खोल्न सकिनन् । नेपालले ४६ रन हुँदा ५ विकेट गुमाएको थियो । तर छैटौँ विकेटका लागि बिन्दू रावल र नेरी थापाले ३७ रनको साझेदारी गरी इनिङ उकासे ।

नेरी १९ रनमा आउट भएपछि आएकी कप्तान रुविना क्षेत्रीसँग पनि बिन्दूले ३२ रनको साझेदारी गरिन् । इनिङको अन्तिम बलमा आउट हुनुअघि रुबिनाले १३ बलमा ३ चौकाको सयोगमा २२ रन बनाइन् । बिन्दू ४९ बल खेलेर २८ रनमा अविजित रहिन् । बलिङतर्फ कुवेतकी मार्यम ओमर र प्रियादा मुरलीले २–२ विकेट लिए ।

सात टोली सम्मिलित एसियाली छनोटको शीर्ष स्थानमा रहने नेपालको सम्भावना भने कमजोर छ । नेपालले पाँच खेलमा जित निकालेको छ भने थाइल्याण्डसँग पराजित भएको थियो । घरेलु टोली थाइल्याण्डले यूएईसँग खेल्न बाँकी छ । त्यस खेलमा यूएई विजयी भएमा तीन टोलीको समान १० अंक हुनेछ । त्यसपछि रनरेटका आधारमा शीर्ष टोलीको छिनाफानो हुनेछ । थाइल्याण्ड विजयी भएमा नेपालको विश्वकप सपना समाप्त हुनेछ । सन् २०२० मा महिला टी–२० र २०२१ मा एकदिवसीय महिला विश्वकप हुँदैछ ।

दुवै विश्वकपको सुरुवाति छनोट यो प्रतियोगिता हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *