सुदूरपश्चिमका पहाडमा १० वर्ष यताकै ठूलो हिमपात

१६ फागुन, डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भारी हिमपात भएको छ । यहाँका पहाडी जिल्लाहरुमा दश वर्षपछिकै ठूलो हिमपात भएको स्थानीयबासिन्दाको भनाई छ । हिमपातका कारण डोटीको जिल्ला सदरमुकाम सिलगढी आसपासका डाडाँकाँडाहरु सेताम्मे भएका छन् ।

बुधवार राति भएको भारी हिमपातका कारण चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित भएको छ । डोटी लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा, अछाम र दार्चुलालगायतका जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै भारी हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रदेश प्रहरी सञ्चार कार्यालयका अनुसार राती भारी हिमपात भए पनि अहिले भने यहाँका जिल्लाहरुमा घाम लागेको छ ।

डोटीको भिग्रना, नापानी, स्वाँणा, मछिन्तोला, बग्लेक, ग्वालादेउ, चौखुट्टे, केदार धुरालगायतका ठाउँहरुमा भारी हिमपात भएका कारण घर बाहिर निस्किन समेत समस्या भएको छ । त्यस्तै बैतडीको सतबाँझ, ग्वाल्लेक, खोड्पे, श्रीभावर, ढोल्यामोड, बाँचपानी, नाचन्थली, जित्कीजुँवाड, सिगासधुरालगायतका उच्च क्षेत्रमा भारी हिमपात भएको छ ।

डडेल्धुराको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुँखर्क, हगुल्टेलेक, महाभारत लेकका बिभिन्न ठाउँमा भारी हिमपात भएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । यहाँका पहाडी जिल्लामा एक्कासी बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिकालगायत प्रभावित भएका छन् ।

पटकपटक भइरहेको हिमपातका कारण पाखो क्षेत्रमा लगाइएको हिउँदेबाली सप्रिने भए पनि निरन्तर रुपमा भइरहेको वर्षाका कारण सिँचाई हुने खेतमा लगाइएको गहुँ लगायतको अन्नबालीमा भने नोक्सान हुन सक्ने दिपायलका किसान भरत कामीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पानी नलाग्ने पाखो खेतमा हिउँले उब्जनी हुने भए पनि पानी लाग्ने खेतमा लगातार हिउँ पर्दा कुहिने र नोक्सान हुने बढी सम्भावना छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *