एन्फाद्वारा महिला खेलाडीलाई जनही एक लाखसहित सम्मान

२८ फागुन, विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको पूर्व सन्ध्यामा नेपाली महिला फुटबल टिमका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरेको छ ।

विराटनगरमा एन्फाले ओलम्पिक खेलकुदको दोस्रो चरण पुगेको र भारतमा सम्पन्न हिरो महिला गोल्डकपको उपविजेता बनेको नेपाली महिला टिमका प्रत्येक सदस्यलाई दुई वटा प्रतियोगितामा गरी ५०–५० हजार पुरस्कार दिएको हो ।

रेखा पौडेल, रुपा रानामगर, रञ्जना दर्जी, दीपा न्यौपाने, अनु लामा, सर्मिला थापा र पूजा राणाबाहेक सबै खेलाडीले एक लाख पाएका छन् । रेखा, रुपा, रञ्जना, दीपा, अनु, शर्मिला र पूजाले भने जनही ५० हजार पाएका हुन् ।

अन्जना राना मगर, अन्जिला तुम्बाप्पो सुब्बा, मन्जली कुमारी योञ्जन, निरु थापा, विमला चौधरी, दीपा राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनीता केसी, अनीता बस्नेत, हीरा कुमारी भुजेल, सवित्रा भण्डारी, अमृता जैसी, पुनम जर्घा मगर, मनमाया लिम्बु, कविता धिमाल र गीता राना मगरले एक–एक लाख पाए ।

त्यस्तै, विराटनगर महानगरपालिकाले मोरङबाट राष्ट्रिय टिममा परेका तीनजना खेलाडीलाई ब्राण्ड एम्बेसडर घोषणा पनि गरेको छ । सरु लिम्बु, मनमाया लिम्बु र कविता धिमाललाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ब्राण्ड एम्बेसडर घोषणा गरेका हुन् ।

मेयर पराजुलीले साफ च्याम्पियनसिपको उपाधि जिते नगदसहित सम्मान गर्ने पनि बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *