चैतभित्र पार्टीमाथिको प्रतिबन्ध नहाटाए सरकारको कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने विप्लवको चेतावनी

१२ चैत, काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । आफ्नो पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा उसले केपी शर्मा ओली नेतृत्वको सरकारले गर्ने कार्यक्रमविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।

आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध चैतभित्र नहटाएमा तथा शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउँदै आमहड्तालको तयारी गर्ने पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका आफ्ना पार्टीका नेता कार्यकर्ताको रिहाइको माग गर्दै उसले चैत १३ गतेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ ।

चैत १३ गते पहिलो दिन देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मसाल जुलुस गर्ने उल्लेख छ । यस्तै चैत १६ गते शनिबार नेपाल बन्द गर्ने, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन र चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बन्द गर्नु आफूहरुको चाहना नभई सरकारी दमनकाविरुद्ध भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विप्लवले आह्वान गरेको बन्दकै दिन सरकारले लगानी सम्मेलन गर्दै छ ।

सरकारले २८ फागुनमा विप्लव नेतृत्वका नेकपाको क्रियाकलापमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध घोषणापछि मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वली ‘सुदर्शन’, पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ सहितका नेताहरु पक्राउ परेका छन् ।

सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले चैतभित्र विप्लव समूहको गतिविधिलाई नियन्त्रणमा लिनेघोषणा गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *