प्रदेश २ मा स्थगित भएको एसईई परीक्षा यही चैत महिनाभित्रै सञ्चालन गर्ने

१७ चैत, काठमाडौं । प्रदेश २ मा स्थगित भएको एसईई परीक्षा यही चैत महिनाभित्रै सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि नयाँ प्रश्नपत्र छपाई, भत्ता र प्रशासनिक खर्च दोहोरिने भएकाले सरकारलाई करोडौंको आर्थिक भार थपिने भएको छ ।

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा लगातार दुई दिन आउट भएपछि केन्द्र सरकारले प्रदेश २ को परीक्षा रद्द गरेको थियो । प्रश्नपत्र आउट प्रकरणको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले छानविनसमेत गरिरहेको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले रद्द भएका विषयहरुको पुनः परीक्षा चैत महिनाभित्रै सञ्चालन गर्ने लक्ष्य रहेको बताए । प्रदेश २ मा स्थगित परीक्षा चैत महिनाभित्रै सञ्चालन भएमा अरु प्रदेशहरुसँगै एकैपटक नतिजा निकाल्न सहज हुने बोर्डको विश्वास छ ।

परीक्षा नियन्त्रक अधिकारीले भने, ‘धेरै टाढा नलगेमा एकरुपता गर्न सजिलो हुन्थ्यो भन्ने हो, तर हेरौं बोर्डको बैठकले कस्तो निर्णय गर्छ ।’ प्रदेश २ को एसईई परीक्षाको विषयमा निर्णय गर्न आइतबार साँझ पाँच बजेपछि बोर्डको बैठक बोलाइएको अधिकारीले जानकारी दिए ।

प्रदेश २ मा प्राविधिक विषयसमेत गर्दा आठ दिन परीक्षा सञ्चालन गर्नुपर्ने अधिकारीले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *