प्रदेश २ मा भोलिबाट हुने एसईई परीक्षामा केन्द्राध्यक्ष बाहेक सबैलाई मोबाइल प्रयोगमा निषेध

२१ चैत, धनुषा । प्रदेश २ मा भोलिबाट हुने एसईईको बाँकी परीक्षा मर्यादित बनाउन निकै कडाइ गरिने भएको छ ।

बिहीबार बसेको प्रदेश २ माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले परीक्षा केन्द्रमा खट्ने केन्द्राध्यक्षबाहेक सबैलाई मोबाइल प्रयोगमा निषेध लगाउने निर्णय गरेको हो ।

यसअघि एसईईअन्तर्गत विज्ञान र समाजिक विषयको पश्नपत्र एक दिनअगावै बाहिरिएपछि परीक्षा बोर्डले प्रदेश २ का आठवटै जिल्लाको विज्ञान र समाजिक सहित अन्य बाँकी विषयको परीक्षाहरु स्थगित गरिएकाे थियाे । बोर्डले विज्ञान र समाजिक विषयलगायतको बाँकी परीक्षा चैत २२ गते अर्थात भोलिबाट २९ गतेसम्मको तालिका निर्धारण गरिएकाे छ ।

माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समिति प्रदेश २ का संयोजक प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीको अध्यक्षतामा बसेको बैठकले विगतका जस्तो अवान्छित गतिविधि दोहोरिन नदिन एवं परीक्षा मर्यादित बनाउन ८ वटा निर्णय गरिएकाे प्रदेश २ का शिक्षा निर्देशक रामाकान्त शर्माले जानकारी दिनुभयो ।

बैठकले परीक्षामा सुरक्षा सतर्कता बढाउने, केन्द्राध्यक्ष बाहेक परीक्षा निरीक्षक, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी र सहयोगी समेतलाई मोबाइल प्रयोग निषेध गर्ने निर्णय गरेको छ । यस्तै प्रश्न पत्र रुजु गर्दा पश्नपत्र भण्डारण गरेको कोठामा जाने बेला केन्द्राध्यक्षलाई समेत मोबाइल प्रयोगमा रोक लगाइएको छ ।

अबका परीक्षाहरुमा सबै केन्द्रमा सुरक्षाकर्मीको उपस्थितिमा प्रभावकारी तरिकाले परीक्षार्थीको शरीर खानतलासी गर्ने, परीक्षार्थीले मोबाइल लगेको भेटेमा तत्काल जफत गरी सुरक्षाकर्मीमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउने र जिल्ला प्रहरी कार्यालयले मोबाइलको प्रयोग सम्वन्धमा अनुसन्धान गर्ने निर्णय गरेको छ ।

अघिल्लो परीक्षाहरुमा प्रश्नका उत्तरहरु कार्बन कपी बनाइ वितरण गरिएको, केही कम्प्यूटर प्रिन्टबाट छापिएको भेटिएको हुनाले सुरक्षाकर्मीले कार्बन कपी निर्माण गर्ने व्यक्ति तथा प्रिन्ट गर्ने उपकरणसहित नियन्त्रणमा लिन निर्देशन दिएको छ ।

केही केन्द्रमा परीक्षा हलमा अनियमित कार्य रोक्न सक्ने शिक्षकलाई मात्र निरीक्षकको रुपमा नियुक्ति गर्ने, परीक्षामा खट्न नियुक्त गरेका सबै कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगानासमेतको विवरण बनाइ परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न निर्देशन दिइएको छ ।

बैठकले परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने कार्यक्रमा सबै पक्षलाई सहयोग गर्नसमेत आग्रह गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *