मेचीनगरमा ‘स्कुल ठाउँसारी’मा प्रतिबन्ध

३ वैशाख, मेचीनगर । मेचीनगर नगरपालिकाले निजी विद्यालयको ठाउँसारीमा प्रतिबन्ध लगाएको छ । गत माघ २ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरभित्र निजी विद्यालयको ठाउँसारीमा रोक लगाउने निर्णय गरेको हो ।

यो निर्णयका कारण यसै शैक्षिक सत्रदेखि विर्तामोडबाट स्थानान्तरण भई मेचीनगरमा सञ्चालन हुने तयारीमा रहेको लालीगुराँश पब्लिक अङ्ग्रेजी स्कुलले समस्यामा परेको जनाएको छ ।
नगरपालिकाले सो विद्यालयले माग गरे बमोजिम मेचीनगर–८ प्रगति टोलमा विद्यालय स्थानान्तरणका लागि अनुमति दिन मानेन ।

‘कानून बमोजिम सबै प्रक्रिया पूरा गरिसकेका छौं’, लालीगुराँश स्कुलका संस्थापक अर्जुन राजबंशीले सोमवार पत्रकार सम्मेलन गर्दै भने–‘स्थानीय कानून नबनिसकेको बहाना बनाएर हाम्रो विद्यालयलाई सञ्चालन हुन दिइएन ।’

जुपिटर इङ्लिश बोर्डिङ स्कुलको नामबाट विर्तामोडमा सञ्चालित सो विद्यालयलाई नाम फेरेर लालीगुराँश बनाई मेचीनगर–८ मा ठाउँसारीका लागि प्रक्रिया सुरु गरिएको थियो ।
गत पुसदेखि नै ठाउँसारीका लागि प्रक्रिया सुरु गरिएको र नगरपालिकाको शिक्षा शाखाबाट ११ वटा कागजात ल्याउन भनिएको राजबंशी बताउँछन् ।
शिक्षा शाखाले मागे बमोजिम विर्तामोड नगरपालिकाको स्थानान्तरण सिफारिस, मेचीनगर–८ वडा कार्यालयको सिफारिस, नाम परिवर्तन गरिएको कम्पनी प्रबन्धपत्र, धरौटी रकम लगायतको एघारै वटा कागजात मेचीनगर नगरपालिकामा पेश गरिएको उनले बताए ।
‘यो कागज लेउ, त्यो कागज लेउ भनियो, हामीले सबै ल्यायांै’, विद्यालयका सञ्चालक राजबंशी नगरपालिकाप्रति आक्रोशित हुँदै भन्छन्–‘अहिले आएर कानूनी अस्पस्टता भयो भन्दै अनुमति दिन आनाकानी गरियो ।’
लालीगुराँश स्कुल सञ्चालनका लागि सञ्चालकहरुले मेचीनगर–८ मा विद्यालय भवन लगायतको भौतिक पूर्वाधार खडा गरिसकेको छ ।
विद्यालयलाई यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्ने भन्दै ११ जना शिक्षक राख्ने र भवनभित्र डेक्स बेञ्च राख्ने काम भइसकेको छ । तर विद्यार्थी भर्ना भने गर्न थालिएको छैन ।
मुद्धा अदालतसम्म ः
लालीगुराँशकै जस्तो ठाउँसारी अनुमति नपाएर मेचीनगरमा अन्य ३ वटा निजी विद्यालय समस्यामा परेको पाइएको छ । मेचीनगर–४ मा बालजगत इङ्लिश स्कुल, मेचीनगर–६ मा एमिटी स्कुल र मेचीनगर–१५ मा अर्को एउटा स्कुलले नगरपालिकाबाट यसपाली ठाउँसारी पाउनका लागि अनुमति मागेको थियो ।

अनुमति नपाए पछि विद्यालयहरु ठाउँसारीमा रोक लगाउने नगरपालिकाको निर्णय विरुद्ध न्यायालयको ढोका ढक्ढक्याउन पुगेका छन् । सर्वोच्च अदालतमा यो ठाउँसारी दिन हुने कि नहुने भन्ने विषय विचाराधीन छ ।

नगरपालिकाको अडान ः
मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले नगरपालिकाले भइरहेकै सामुदायिक विद्यालयको स्तरोन्नति र शैक्षिक गुणस्तर अभिवृद्धिको विषयलाई प्राथमिकता दिएको जनाउँदै निजी विद्यालय थप्ने र अन्यत्रबाट ठाउँसारी भइआउने प्रक्रियालाई रोक्न चाहेको बताएकी छन् ।

प्रदेशको कानून नबनी स्थानीय कानून बनाउन अप्ठेरो परेको र अहिले स्थानीय कानून नभएको अवस्थामा ठाउँसारीको अनुमति दिन नसकिने उनको भनाई थियो । यो विषय सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको हुँदा अदालतको फैसला जे आउँछ त्यसलाई स्वीकार गरिने उनले बताइन् ।

नगरको शिक्षा समिति हेर्दै आएका मेचीनगर–४ का अध्यक्ष नविन बरालले ठाउँसारीको विषयमा अदालतबाट आउने फैसला पर्खिन आवश्यक रहेको बताए ।

सङ्घीय कानून लागू हुनु पर्ने दावी ः

मेचीनगर–६ मा एमिटी पब्लिक स्कुल ठाउँसारी गरेर सञ्चालन गर्ने तयारीमा रहेका विद्यालयका संस्थापक सुवर्ण भट्टराईले स्थानीय कानून नबनेको अवस्थामा मुलुक कानून विहीन नहुने र त्यसबेला सङ्घीय कानून लागू हुनु पर्ने माग गरेका छन् ।

सङ्घीय शिक्षा ऐनमा नेपाल सरकारले कुनै पनि विद्यालयलाई निवेदकको माग अनुसार सार्न, मर्ज गर्न र बन्द गर्न सक्ने स्पष्ट व्यवस्था रहेको भट्टराई बताउँछन् । कानूनमा जिल्ला शिक्षा कार्यालयले विगतमा प्रयोग गर्दै आएको अनुमति पत्रको अख्तियारी हाल स्थानीय शिक्षा अधिकारीलाई आएको तर त्यसको प्रयोग हुन नसकेको उनको भनाई छ ।

मेचीनगर–८ का नेकपा वडा कमिटीका अध्यक्ष कुन्दन निरौलाले नयाँ स्थानीय कानून नबनुञ्जेलसम्म पुरानै कानून बमोजिम ठाउँसारीको अनुमति दिने वातावरण तयार गरिदिन नगरपालिकासँग आग्रह गरेका छन् । – LoktantraPost

Leave a comment

Your email address will not be published. Required fields are marked *