सुरुङ्गामा बायोग्याँस प्लाण्ट शिलान्यास

सुरुङ्गा । सुरुङ्गामा वैकल्पिक ऊर्जा उत्पादनको लागि बायोग्याँस प्लाण्टको शिलान्यास गरिएको छ । एक समारोहका वीच कनकाई–२ सुकेडाँगीमा नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त प्लाण्टको धार्मिक विधिपूर्वक शिलान्यास गरे ।

सो अवसरमा डा. खतिवडाले कार्यक्रमगत मात्र नभएर नीतिगत रुपमै विकास तथा निर्माणको अवधारणासहित आर्थिक परिवर्तनको बाटोमा मुलुकलाई लैजान नेपाल सरकारले चाहिरहेको बताए । उनले वैकल्पिक ऊर्जाको क्षेत्रमा झापाका कनकाई, विर्तामोड र अर्जुनधारा नगरपालिकाको पहलमा संघीय र प्रदेश सरकारको सहयोग जुटाउँदै जनसमुदायलाई पनि समावेश गरी परियोजना अघि बढाएकोमा स¥हाना गरे ।

तीनै वटा नगरबाट उत्सर्जन हुने फोहोरमैलाको दिगो रुपमा व्यवस्थापन गरी वैकल्पिक ऊर्जा तथा जैविक मल उत्पादन गर्ने लक्ष्यका साथ शुरु गरिएको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोमैला व्यवस्थापन लिमिटेडमा हालसम्म ४ सय ९२ जना शेयर सदस्यबाट ८८ लाख २३ हजार रुपैयाँ बराबरको शेयर पूँजी संकलन भइसकेको छ ।

४ हजार घनमिटरको बायोग्याँस प्लाण्ट निर्माण भएपछि ३ वटा नगरपालिकाबाट उत्पन्न हुने सबै फोहोरलाई वर्गीकृत गरी संकलन गरी प्रशोधन गरी ९ सय घरधु्रीलाई बायोग्याँस वितरण गर्ने योजना रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोमैला व्यवस्थापन लिमिटेडका सञ्चालक समिति अध्यक्ष मिनाल तिम्सिनाले जानकारी दिए । परियोजना सम्पन्न गर्न १६ करोड ७० लाख रुपैयाँ लाग्ने र नेपाल सरकार वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रबाट ७ करोड अनुदान प्राप्त हुने अध्यक्ष तिम्सिनाले बताए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसदद्वय एल.पी. साँवा र पवित्रा खरेल, प्रदेश सांसद हीराकुमार थापा, वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा, नेपाली कांग्रेस झापा जिल्ला सदस्य गोपाल उप्रेती, च्याम्बर अफ कमर्श झापा जिल्ला सचिव सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संविधान सभा सदस्यद्वय नरेश खरेल र अम्बिका राजवंशी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, शिवसताक्षी नगर प्रमुख चन्द्रकुमार शेर्मा लिम्बू, भूमि व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनाल, नेक्स्ट एरा दमकका अध्यक्ष युवराज घिमिरे, वैकल्पिक ऊर्जा विज्ञ जीवनराम श्रेष्ठ लगायतको आतिथ्य रहेको कार्यक्रममा कनकाई नगर वार्ड नगरका वार्ड नं. २ का अध्यक्ष एवम् वन वातावरण तथा व्यवस्थापन समितिका संयोजक परशुराम गिरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोमैला व्यवस्थापन लिमिटेडका प्रबन्ध निर्देशक दीपक चापागाईंले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *